मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Friday, 14 August, 2026
२o७९ पौष १४ बिहीबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६० वर्षमाथिका एकल पुरुष र मध्यम अपांगता भएकालाई सामाजिक सुरक्षा भत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १२:५४:oo

लमजुङको बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका मध्यम अपांगता भएका र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष ०७९/८० को माघबाट लागू हुने गरी मध्यम अपांगता भई पहेँलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो।

एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गका अपांगता भएकालाई संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने भए पनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपांगता भएकालाई नगरपालिकाले जनही मासिक पाँच सय रुपैयाँ भत्ता दिने निर्णय गरेको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए।

नगरपालिकाका अनुसार मध्यम अपांगता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (१६ वर्षमुनिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि) र मध्यम अपागंता परिचयपत्र (पहेँलो कार्ड)को प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेस गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले बताए।

सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनीत भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेका नागरिक र प्रचलित कानुनबमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले भने मध्यम अपांगता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले जनाएको छ।