१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुपर ओभरमा लुम्बिनीले बाजी मार्‍यो

सुपर ओभरमा लुम्बिनी अल स्टार्सले एक विकेट गुमाएर १९ रन बनाउँदा फार वेस्ट युनाइटेडले १० रन मात्र जोड्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१७:oo

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको बुधबार नवौँ खेलमा फार वेस्ट युनाइटेड र लुम्बिनी अल स्टार्सले प्रतिस्पर्धा गरेका थिए । यो खेलको नतिजा २० ओभरमा निस्किएन । लिगमै पहिलोपटक टाई भएपछि खेलको छिनोफानो सुपर ओभरबाट भयो । सुपर ओभरमा लुम्बिनीले बाजी मार्‍यो । फार वेस्ट युनाइटेड नौ रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । लुम्बिनीले पनि २० ओभरमै नौ विकेट गुमाएर एक सय ३७ रन जोड्दा खेल टाई भयो । 

सुपर ओभरमा २० रनको लक्ष्य
लुम्बिनीले सुपर ओभरमा पहिलो ब्याटिङ गरी एक विकेट गुमाएर १९ रन बनायो । केवल एक ओभरको खेलमा लुम्बिनीका ब्याट्सम्यानले दुई छक्का प्रहार गरे । सुपर ओभरमा फार वेस्टका करण केसीले बलिङ गरेका थिए । श्रीलंकाली ब्याट्सम्यान लहिरूले करणले फ्याँकेको तेस्रो र चौथो बललाई छक्का प्रहार गरे ।

उनले पाँचौँ बलमा तीन रन लिए । सुपर ओभरमा २० रनको लक्ष्य पछ्याएको फार वेस्टविरुद्ध किशोर महतोले बलिङ गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले जोखिम उठाउँदै किशोरलाई बल दिए । महतोको पहिलो बलमै हसमतुल्लाहले छक्का प्रहार गरे । त्यसपछि सम्हालिएका महतोले कसिलो बलिङ गरेका थिए । महतोले दोस्रो बल डट फ्याँके । तेस्रोदेखि छैटौँ बलमा फार वेस्टले चार रन मात्र जोड्यो । 

लहिरू म्यान अफ दी म्याच
एक सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीको ब्याटिङ सहज भएन । इनिङ्सको ९.४ ओभरमा लुम्बिनीले ६ विकेट गुमाएर ५६ रन जोडेको थियो । धर्मराएको इनिङ्सको सातौँ क्रमका विपुल शर्मा र नवौँ क्रमका गुलसन झाले उत्कृष्ट प्रदर्शन गरे । विपुलले २७ बलमा एक चौका र दुई छक्का प्रहार गरी ३१ रन बनाए । गुलसनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३६ रनको योगदान दिए ।

लुम्बिनीका लागि ओपनर श्रीलंकाली ब्याट्सम्यान लहिरू मिलान्थले २० बलमा दुई चौका र चार छक्का प्रहार गरी ३४ रनको योगदान दिए । सुपर ओभरमा उत्कृष्ट ब्याटिङ गरी लुम्बिनीलाई लगातार चार खेलमा जित दिलाउन महŒवपूर्ण योगदान गरेका लहिरू नै खेलका म्यान अफ दी म्याच भए । लुम्बिनीका आठ ब्याट्सम्यानले दोहोरो रन बनाएनन् । बलिङका क्रममा करण केसीले २० रन खर्चेर दुई विकेट लिए । शेर मल्लले २७ रनमा दुई विकेट नै हात पारे ।

 अर्धशतक बनाउन चुके देव
पहिलो ब्याटिङ गरेको फार वेस्टका ओपनर देव खनाल अर्धशतक बनाउन केवल दुई रनले चुकेका छन् । उनी ४८ रनमा आउट भए । इनिङ्सको १४.२ ओभरमा विकेट गुमाउनुअघि देवले ४२ बलमा पाँच चौका प्रहार गरेका थिए । फार वेस्टको ब्याटिङमा कप्तान हसमतुल्लाह साहिदीले २९ बलमा तीन चौका प्रहार गरी ३२ रनको योगदान दिए । यसैगरी, भीम सार्कीले १५ रन, विनोद भण्डारीले ११ रन तथा करणले १२ रन बनाए । बलिङमा स्याड्ली भानले ३९ रन दिएर दुई विकेट हात पारे । रोमाञ्चक जितसँगै लुम्बिनीले चार खेलबाट सर्वाधिक आठ रन जोडेको छ । फार वेस्ट दुई अंकका साथ पाँचौँ स्थानमा छ । 

विराटनगर ६ विकेटले विजयी
अघिल्लो खेल सुपर ओभरमा गएपछि लिगको १०औँ खेलमा एक ओभर घटाइएको थियो । बुधबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीच खेल भएको थियो । पहिलो ब्याटिङ गरेको पोखराले १९ ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन जोडेको थियो । प्रत्युत्तरमा विराटनगरले १७.४ ओभरमा चार विकेटको क्षतिमा एक सय ४० रन बनायो । जितसँगै विराटनगर लिगको चौथो स्थानमा उक्लेको छ । विराटनगरले तीन खेलबाट दुई अंक जोडेको छ । पोखराले चार खेलमा अंक जोड्न सकेको छैन । 

हुसेनको अर्धशतकीय इनिङ्स
लक्ष्य पछ्याउँदा विराटनगरका लागि हुसेन टलाटले अर्धशतकीय योगदान दिएका थिए । उनले ३० बलमा चार चौका र एक छक्का प्रहार गरी ५० रन बनाए । खेलको अन्तिमसम्म उनी आउट भएनन् । विराटनगरका लागि एन्ड्रे म्याककार्थी र अर्जुन साउदले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे । एन्ड्रेले ३३ बलमा २१ रन तथा अर्जुनले २२ बलमा २५ रनको योगदान दिए । अर्जुनले आफ्नो इनिङ्समा दुई छक्का र एक चौका प्रहार गरेका थिए । पृथु बास्कोटाले आठ बलमा १५ रन तथा विवेक यादवले आठ बलमा १४ रनको योगदान दिए । 

यसअघि ब्याटिङ गरेको पोखराका लागि कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान दिए । उनले १८ बलमा समान तीन चौका र छक्का प्रहार गरी टोलीको रनरेट उकास्ने काम गरे । पुछारका ब्याट्सम्यान सस्तै रनमा आउट हुँदा पोखरा स्कोर बोर्डमा चुनौतीपूर्ण योगफल बनाउन चुक्यो । पोखराका लागि श्रीलंकाली खेलाडी उपल थरंगाले १९ रन तथा सिद्धान्त लोहनीले १९ बलमा तीन छक्काको सहयोगमा ३७ रन जोडे । 

ad
ad