१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:२९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भन्दा महत्वहीन ठानियो : कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष १२ मंगलबार ०९:२९:००

कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरक धार भएका दलहरूबीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानिएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै आफूहरूले चुनावअघि गठबन्धन नगरौँ भन्दा त्यसलाई महत्वहीन ठानिएको बताएका हुन् । 

‘संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आमनेपालीमाझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ उनले भनेका छन् ।

तर, कोइरालाले पछिल्लो घटनाक्रमले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको प्रस्ट पारेका छन् । सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ । ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वाभाविक होइन । साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन,’ कोइरालाले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूका घरआँगनमा आउनेछौँ ।’ उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने पनि उल्लेख गरेका छन् । ‘किन यस्तो परिस्थिति निर्माण भयो भनेर हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौँ,’ कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौँ ।’