१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ पौष ७ बिहीबार १५:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानी उपभोक्ता समितिमा लफडा, नेतृत्व चयनका लागि निर्वाचनको  तयारी

Read Time : > 1 मिनेट
२०७९ पौष ७ बिहीबार १५:०६:००

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभामा लफडा भएको छ। 

गत मंसिर २६ गते औपचारिक रूपमा उद्घाटन गरिएको दोस्रो वार्षिक साधारणसभाको बन्द सत्र अझै टुंगिएको छैन। 

बन्दसत्रमा मताधिकार नभएका उपभोक्ता प्रवेश गरेर हो–होल्ला गर्दै लफडा गरेकाले पटक–पटक बन्दसत्र सारिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले दाबी गरेका छन्।

‘अधिकांश घरधनी (उपभोक्ता) जिल्लाबाहिर भएका कारण साधारणसभामा गणपूरक संख्या पुगेन,’ उनले भने, ‘पहिलोपटक गणपूरक संख्या नपुगेमा दोस्रोपटक एकतिहाइ र तेस्रोपटक उपस्थित संख्यालाई नै गणपूरक मानिने समितिको विधानमा उल्लेख छ। बन्दसत्रले सर्वसहमत नेतृत्व चयन गर्न नसकेपछि विधानअनुसार निर्वाचनमा जाने गरी प्रक्रिया अगाडि बढाइएको छ।’

दोस्रोपटक बोलाइएको भेलामा समेत गणपूरक संख्या नपुगेपछि पुस ६ गते (हिजो) तेस्रोपटक बोलाइएको बन्दसत्रले नीति तथा कार्यक्रम पारित गरेर उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्न पुस १० गते निर्वाचन गर्ने तयारी गरेको अध्यक्ष जोशीले जानकारी दिए। रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी आयोजनामा नाै सय ७७ उपभोक्ता मतदाता छन्। 

उसो त रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यसअघिका साधारणसभामा पनि ५१ प्रतिशत उपस्थिति नहुँदा एकतिहाइको उपस्थितिमा बन्दसत्र टुंग्याइएको थियो। आफूअनुकूलको मतदातालाई अधिक उपस्थित गराउने र अनुकूलको उपभोक्ता समिति बनाउने खेलका कारण पनि बन्दसत्र पटक–पटक सारिएको कतिपयको बुझाइ छ।

खानेपानी उपभोक्ता समितिको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ‘भाने’ र सचिव नवराज जोशी आकांक्षी देखिएका छन्। श्रेष्ठ र जोशीबीच सहमति नभएपछि अध्यक्षलगायत सम्पूर्ण कार्यसमिति चयन गर्न चुनाव गर्नुपर्ने बाध्यता सिर्जना भएको अध्यक्ष जोशीले जानकारी दिए। 

सर्वसहमतिमा पदाधिकारी चयन हुन नसकेपछि खानेपानी उपभोक्ता समितिमा राजनीति सुरु भएको छ। खानेपानी आयोजनाका लागि समय दिन सक्ने फुर्सदिलो र मुहानका स्थानीय बासिन्दासँगसमेत समन्वय गर्न सक्ने व्यक्तिलाई अध्यक्ष चयन गर्नुपर्ने अधिकांश उपभोक्ताको धारणा रहेको छ। 

रम्बाखोला–माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा छन्। दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना गत वर्षको चैत (०७८)देखि सञ्चालनमा ल्याइएको हो।

रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनालाई मिलाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ३ बाम्राङका गरी एक हजार ४९ घर उपभोक्तालाई प्रशोधन गरिएको स्वच्छ र गुणस्तरीय पानी वितरण गरिएको छ। नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु. २२ करोड ५५ लाख ५८ हजार लगानीमा खानेपानी आयोजना सञ्चालन गरिएको हो।

करिब वर्षदिनअघि सञ्चालनमा ल्याइएको सहरी खानेपानी तथा सरसफाइ आयोजना विभिन्न ठाउँमा अवरुद्ध हुँदै आएको छ। 

दिक्तेल बजारको ढलान गरिएको सडकमुनि बिच्छ्याइएको खानेपानीको पाइपमा ठेकेदारको लापरबाहीका कारण समस्या देखिएपछि ढलान काटेरमर्मत गर्दा विभिन्न ठाउँमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ।