१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ पौष ७ बिहीबार ०८:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गोदावरी खोलामा फोहोर फाल्नेलाई कारबाही

Read Time : < 1 मिनेट
२०७९ पौष ७ बिहीबार ०८:३४:००

ललितपुरको गोदावरी खोलामा फोहोर फाल्न नदिन सिसी क्यामरा जडान गरिने भएको छ । खोलामा जथाभावी फालेको फोहोरले बस्ती नै प्रदूषित भएपछि स्थानीयवासीको सक्रियतामा सिसी क्यामरा जडान गर्न लागिएको हो । 

गोदावरी नगरपालिकाले पनि गोदावरी खोला, मुख्य चोक र सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडानका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । कतिपय ठाउँमा सिसी क्यामरा जडान सुरु भइसकेको र केहीमा सुरु गरिने नगरपालिकाले जनाएको छ । 

गोदावरी नगरपालिका तथा स्थानीयले खोला सफाइ अभियान थालेको दुई सय हप्ता पूरा भएको छ । तर, एकातिरबाट सफाइ गर्ने अर्कोतिरबाट फोहोर फ्याँक्ने क्रमम नरोकिएपछि निगरानी बढाउन सिसी क्यामरा जडान गर्ने तयारी गरिएको हो । गोदावरी खोलाको करिब पाँच स्थानमा सिसी क्यामरा राखिनेछ । 

खोलालाई थप सफा पार्न नगरपालिकाले र वडा कार्यालयले पनि कडाइ गर्ने गोदावरी नगरपालिका–३ का वडाध्यक्ष रानुराजा घिमिरे (राज)ले जानकारी दिए । उनले गोदावरी क्षेत्र पर्यटकीय नगरी रहेकाले यस क्षेत्रमा कुनै पनि किसिमको फोहोर हुन नदिने गरी काम भइरहेको बताए । ‘यो क्षेत्र पयर्टकीय क्षेत्र हो, यहाँ सबै कुरा सफा र स्वच्छ हुनुपर्छ, खोलाको पानी सफा पार्न हामी लागिपरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा मेलम्ची नआउने भए पनि गोदावरी खोला र त्यहाँका मुहानको पानीले पुग्छ ।’ उनले खोला सफा पार्न एक–दुई महिनामै सिसी क्यामरा जडान गरिने बताए ।

गोदावरी खोला गोदावरी नपा–३, कुण्ड हुँदै भक्तपुरको हनुमन्ते खोलामा मिसिन्छ । खोला प्रदूषित र फोहोर हुन थालेपछि गोदावरी खोला क्षेत्र सरसफाइ अभियानअन्तर्गत पनि खोला सरसफाइ हुँदै आएको छ ।