नेपालमा पहलमानसिंह स्वाँर आधुनिक नाटकको जन्मदाता हुन् । उनले वि.सं. १९६२ अघि नै ‘अटलबहादुर’ नाटक लेखिसकेका थिए । पहिलो लिखित नाटक भएकाले यो हरेकले पढ्नुपर्छ भन्ने लाग्छ । यसमा उनले राणा शासनको सांकेतिक विरोध गरेका छन् । त्यही कारण उनलाई देशनिकाला नै गरिएको थियो र उनी भारतमा गएर बसे ।
१९८६ मा बालकृष्ण समले ‘मुटुको व्यथा’ लेखेर नेपाली नाट्य क्षेत्रमा नयाँ ट्रेन्ड बसाल्ने कोसिस गरे । पाठ्यपुस्तकमा समलाई नै नेपाली आधुनिक नाटकका जन्मदाता भनिँदै आइयोे, तर खासमा यो गलत छ । उनीभन्दा अघि नै नाटक लेखेकाले पहलमान सिंहलाई आधुनिक नाटक जन्माउने श्रेय दिनुपर्छ । यद्यपि, समले नेपाली नाटकलाई नयाँ उचाइमा लगेको भने साँचो हो । मेरो विचारमा युवापुस्ताका रंगकर्मीले समको ‘प्रेमपिण्ड’ नाटक पढ्नैपर्छ ।
मलाई सबैभन्दा मन पर्ने नेपाली नाटकको सूचीमा गोपालप्रसाद रिमालको ‘मसान’ अग्रपंक्तिमा आउँछ । यो नाटक पढ्न सबैलाई सुझाव दिन्छु । ००३ सालमै रिमालले नारी विद्रोहको कथा लेखेका छन् । नारी संवेदनालाई ख्यालमा राख्दै यसमा प्रजनन अधिकार नारीमै हुनुपर्छ भन्ने मुद्दा उठाइएको छ । नेपालको पहिलो मनोविश्लेषणात्मक नाटक भएकाले पनि यसको स्थान विशिष्ट छ ।
गोविन्द मल्ल ‘गोठाले’, विजय मल्ल, ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, सरुभक्तलगायतले लेखेका नाटक पनि उत्कृष्ट छन् । नाटकको मूल्यांकन गर्नका लागि त्यसलाई पढेर मात्रै पुग्दैन । रंगमञ्चमा गरिएको प्रस्तुति हेर्नैपर्छ । किनकि, नाटक भनेकै मञ्चन गर्नका लागि हो ।