१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर २० मंगलबार १७:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा रेबिजको त्रास, सतर्क रहन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १७:२५:oo

काभ्रे जिल्लामा रेबिज रोगको त्रास बढेको छ। जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिजको संक्रमण देखिएको छ।

महाभारत गाउँपालिका वडा नं. ८ मा रहेको घर्तीछाप स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप लगाउन आउनेको भिड लागेको छ। गाउँपालिकाको वडा नं. १ र ८ मा मरेका दुई गाईमा रेबिज पुष्टि भएपछि स्थानीय त्रसित भएका छन्। केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए।

घर्तीछाप स्वास्थ्य चौकीका प्रमुख गोकुल दर्लामीका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज संक्रमण भएको पुष्टि भएको हो। ती गाईको स्याहारसुसार गरेका र दूध खाएका मानिसहरू त्रसित भएर रेबिजविरुद्धको खोप लगाउन लाइन लागेका दर्लामीले जानकारी दिए। जोखिम हेरेर दुई वडाका २० जनाभन्दा बढीलाई रेबिजविरुद्धको खोप लागाइसकेको र करिब ६० जना खोप लगाउन सम्पर्कमा आएको दर्लामीले जानकारी दिए।

सतर्क रहन आग्रह
कुकुरको टोकाइबाट दुई गाई मरेपछि जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरी स्थानीयहरूलाई सतर्क हुन अनुरोध गरेको छ। जोखिम रोकथामका लागि जिल्लाबाट आवश्यक खोप पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईँले जानकारी दिए।

डा. सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताए। उनका अनुसार घर्तीछाप स्वास्थ्य चौकीमा ४१ डोज भ्याक्सिन रहेको र थप १२० डोज पठाइएको छ।

दुई वर्षमा पाँचजनाको मृत्यु 
यसअघि गत भदौमा भुम्लु गाउँपालिका वडा नं. १ सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्धको खोप लगाएको थियो।

स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो। त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेका थिए। यद्यपि, कुनै मानवीय क्षति भने भएको थिएन।

शतप्रतिशत प्राणघातक मानिएको रेबिजबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो। त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपाया मरेका थिए।