१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार २१:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेको नागरिकता विवादमा अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार २१:४८:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे अनुसन्धान सुरु भएको छ । नवनिर्वाचित सांसद लामिछानेको नागरिकता विवादबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको हो ।

परिसरका एसपी दिनेशराज मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धान गर्न अनुमति दिएसँगै लामिछानेको नागरिकता विवादमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

लामिछानेले विदेशी नागरिकता परित्याग गरेर विधिवत रूपमा नेपाली नागरिकता नलिई पहिल्यै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेको भन्दै केही दिनअघि गृहमन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि गृहले उजुरीमा भएका विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धानअगाडि बढाउन काठमाडौं प्रहरी परिसरलाई निर्देशन दिएको हो । 

उनले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउन कानुनी प्रक्रिया नअपनाई पुरानै नागरिकता प्रयोग गरेको तर उनी नेपाली नागरिक भइनसकेको भन्दै निर्वाचन आयोगमा पनि केही दिनअघि उजुरी परेको थियो । 

त्यसपछि आयोगले लामिछानेसँग स्पष्टीकरण मागेको थियो । लामिछानेले स्पष्टीकरण बुझाएपछि आयोगले उनी सांसदमा निर्वाचित भइसकेको र प्रमाणपत्रसमेत दिइसकेको अवस्था रहेको भन्दै उजुरीकर्ताले मागेको उम्मेदवारी खारेजीको मागमा निर्णय गरिरहन आवश्यक नरहेको निर्णय गरेको थियो । 

लामिछानेले आफूले सन् २०१४ मा अमेरिकी नागरिकता लिएको र सन् २०१८ मा अमेरिकी नागरिकता त्यागेको बताउँदै आएका छन् । पुरानै नागरिकताका आधारमा लामिछानेले आफू अध्यक्ष रहेर निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता गरेका छन् । उनीसहित उनको पार्टीबाट सातजना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगई पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।