मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विवाह पञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन निकालिएको मटकोर कार्यक्रम ।
नयाँ पत्रिका जनकपुरधाम
२०७९ मङ्सिर १२ सोमबार ०७:१६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आज विवाह पञ्चमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७९ मङ्सिर १२ सोमबार ०७:१६:००

रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ । राम र सीता विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो । 

जानकी मन्दिरबाट जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको ब्यान्ड र अन्य बाजागाजासहित सुरक्षाकर्मीको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ, जसलाई मटकोर विधि भनिन्छ । मटकोर विधिबाट उत्खनन गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको वेदीमा प्रयोग गरिने चलन छ । गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुन जानकी मन्दिरबाट साधु–सन्त, महन्थ, योगी, सन्न्यासी, भिक्षु–भिक्षुणी तथा ठूलो संख्यामा भक्तजनको सहभागिता थियो । 

महोत्सव १३ मंसिरसम्म चल्नेछ । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवअन्तर्गत सोमबार दिउँसो स्वयंवर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाहमण्डपमा प्रतीकात्मक विवाह हुनेछ । राम र जानकीको स्वयंवर भएको जनविश्वास रहिआएको उक्त स्थानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित डोलालाई नगरको परिक्रमा गर्दै ल्याइएपछि जानकी मन्दिरबाट बाजागाजा लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गराइन्छ ।

त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार राति वैवाहिक कार्यक्रम र त्यसको भोलिपल्ट रामकलेवापछि महोत्सव विधिवत् रूपमा सम्पन्न गरिन्छ । यस वर्षको महोत्सवमा उत्तराखण्ड सरकारका पर्यटनमन्त्री एवं अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु सतपालजी महाराज सहभागी भएका छन् । मधेस प्रदेश सरकारले विवाह पञ्चमीको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।