१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:१६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दोलखामा बुथ कब्जा भएका सात र मतपत्रको अधकट्टी हराएका तीन केन्द्रमा पुनः मतदान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१६:oo

 निर्वाचन आयोगले बुथ कब्जा भएको र मतपत्रको अधकट्टी हराएका दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा भएको निर्वाचनका क्रममा दोलखाका तीनवटा मतदानस्थल अनधिकृत कब्जा भएको र एउटा मतदानस्थलमा मतपत्रको अधकट्टी हराएको ठहर गर्दै आयोगले यसअघि भएको मतदान रद्द गरेको हो । 

आयोगको आइतबार साँझ बसेको बोर्ड बैठकले बुथ कब्जा र मतपत्रको अधकट्टी हराएका १० वटा केन्द्रमा १५ मंसिरभित्र पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले वैतेश्वर गाउँपालिका– ६ स्थित वैतेश्वर मावि स्थलमा पर्ने (क), (ख) र (ग) मतदान केन्द्र, वडा नम्बर २ स्थित जनज्योति मावि पुतलीकाठ स्थलमा पर्ने (क) र (ख) मतदान केन्द्र र तामाकोसी गाउँपालिका– ३ हेल्थपोस्ट भवन जफेस्थित (क) र (ख) मतदान केन्द्रमा अनधिकृत कब्जा भएको ठहर गरेको छ । 

वैतेश्वर– ३ कालीढुंगा मावि स्थलमा पर्ने (क), (ख) र (ग) मा मतपत्रको अधकट्टी हराएको आयोगको निष्कर्ष छ । यहाँको (ख) मतदान केन्द्रमा अत्यधिक भिडभाड भएर अनियन्त्रित हुँदा तितरबितर पार्ने क्रममा सयवटा मतपत्रको अधकट्टी हराएको प्रतिवेदन मतदान अधिकृतबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत आयोगमा आएको थियो । आयोगले यी ठाउँमा खटिएका कर्मचारीको विवरण सम्बन्धित निकायसँग माग गरी आवश्यक कारबाहीका लागि पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ । 

शालिग्राम शर्मा 
पौडेल, प्रवक्ता, निर्वाचन आयोग


दोलखामा पुनः मतदान गर्न मतपत्रलगायत निर्वाचन सामग्री मौज्दात छ । आयोगले समन्वय गरेर पठाउँछ । स्याङ्जा २ र बाजुरामा भने कुनै निर्णय हुन सकेन । आयोगबाट गएको टोली फर्किसकेको छ । उसले प्रतिवेदन पेस गरेपछि निर्णय होला ।

पुनः मतदानका लागि आवश्यक मतपत्रलगायत मतदान सामग्रीको व्यवस्थापन भइरहेको प्रवक्ता पौडेलले बताए । ‘मतपत्रलगायत निर्वाचन सामग्री मौज्दात छ । आयोगले समन्वय गरेर पठाउँछ,’ उनले भने । दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पुनः मतदानको मिति तोक्न सोमबार निर्वाचन सुरक्षा व्यवस्थापन समितिको बैठक बसेर निर्णय लिने बताए । आयोगले पुनः मतदानका लागि सुरक्षा व्यवस्था कडा पार्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । १० केन्द्रमा भएको मतपत्र रद्द गरी सुरक्षित साथ राख्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । 

वैतेश्वर गाउँपालिका– ६ स्थित वैतेश्वर माविका तीन केन्द्रमा दुई हजार ४७२ मतदाता छन् । एक हजार ५८९ मत खसेको प्रारम्भिक विवरण छ । वडा नम्बर २ स्थित जनज्योति मावि पुतलीकाठका दुई केन्द्रमा एक हजार ९३४ मतदाता रहेकोमा ४८१ मत खसेको थियो । वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६६५ मतदाता रहेकोमा दुई हजार १०२ मत खसेको तथ्यांक छ । यहाँको (क) मा ९४.४७ र (ग) मा ९२.९० प्रतिशत मत खसेको थियो । 

तामाकोसी ३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा एक हजार ४४३ मतदाता छन् भने एक हजार ४०६ मत खसेको थियो । यहाँको (क) केन्द्रमा ९७.१४ र (ख) मा ९७.७१ प्रतिशत मत खसेको तथ्यांक छ । पुनः मतदानको निर्णय भएका १० केन्द्रमा कुल आठ हजार ५१४ मतदाता छन् भने पाँच हजार ५७८ मत खसेको थियो । 

मतदान भई मतगणना हुन नसकेको स्याङ्जा २ र बाजुरामा भने कुनै निर्णय हुन नसकेको प्रवक्ता पौडेलले बताए । ‘आयोगबाट गएको टोली फर्किसकेको छ । आज प्रतिवेदन पेस गरेपछि निर्णय होला,’ उनले भने । प्रवक्ता पौडेलले विवादित तीन ठाउँबाहेक सबै क्षेत्रको नतिजा सोमबार साँझसम्म आउने बताए । मतगणनाका क्रममा विवाद भएका ठाउँमा सुचारु गराउन निर्वाचन अधिकृतको कार्यालयले नै पहल गर्ने र त्यहाँबाट समाधान हुन नसकेमा आयोगले निकास दिने उनको भनाइ छ । 

के छ प्रतिवेदनमा ?
टोलीले मुख्य निर्वाचन अधिकृतको कैफियतसहितको प्रतिवेदन, सम्बन्धित केन्द्रका मतदान अधिकृतको प्रतिवेदन, जाँचबुझका क्रममा बुझिएका व्यक्ति एवं पदाधिकारीहरूको भनाइ, दल तथा उम्मेदवारसँग भएको छलफलबाट तथ्य, आधार र कारणबाट सात केन्द्रमा पुनः मतदान गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो । वैतेश्वरको पाँच र तामाकोसीका दुई गरी सात केन्द्र अनधिकृत कब्जा भई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान हुन नसकेको निष्कर्ष निकाल्दै ४ मंसिरको मतदान रद्द गरी पुनःमतदान गर्न सिफारिस ग¥यो । भिड तितरबितर पार्ने क्रममा मतपत्रको अधकट्टी हराएको वैतेश्वरकै कालीढुंगा मावि (ख) मा अन्य कुनै कैफियत नरहेको भन्दै पुनः मतदान गराउन नपर्ने र मतगणना गराउन उपयुक्त हुने सुझाव दियो । 

टोलीले बुझाएको प्रतिवेदनमा पुनः मतदान गर्नुपर्ने अति संवेदनशील मतदानस्थलमा रहने निर्वाचन सुरक्षा मापदण्डको तीन गुणा संख्यामा सुरक्षाकर्मी खटाउनुपर्ने र सुरक्षा व्यवस्था सुनिश्चित गर्न सुझाव दिइएको छ । मतदान केन्द्रमा बाध अवरोध पु¥याउने, डर–धम्की देखाउने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधिलगायत जो–कोहीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न नपाएको र मतदानमा खटिएका कर्मचारीलाई निष्पक्ष रूपमा सम्पन्न गराउनमा विभिन्न तरिकाबाट डर, धाक, धम्की र चुनौती दिएर अवरोध सिर्जना गरेको प्रतिवेदनको निष्कर्ष छ । 

 दोलखाको पुनः मतदान हुने केन्द्रमा कति छन् मतदाता ?

  • वैतेश्वर गाउँपालिका– ६ स्थित वैतेश्वर माविका तीन केन्द्रमा दुई हजार ४७२ मतदाता छन् । एक हजार ५८९ मत खसेको प्रारम्भिक विवरण छ । 
  • वडा नम्बर २ स्थित जनज्योति मावि पुतलीकाठका दुई केन्द्रमा एक हजार ९३४ मतदाता रहेकोमा ४८१ मत खसेको थियो । 
  • वडा नम्बर ३ कालीढुंगा माविका तीन केन्द्रमा दुई हजार ६६५ मतदाता रहेकोमा दुई हजार १०२ मत खसेको तथ्यांक छ । यहाँको (क) मा ९४.४७ र (ख) मा ९२.९० प्रतिशत मत खसेको थियो । 
  • तामाकोसी ३ हेल्थपोस्ट भवन जफेको दुई मतदान केन्द्रमा एक हजार ४४३ मतदाता छन् भने एक हजार ४०६ मत खसेको थियो । यहाँको (क) केन्द्रमा ९७.१४ र (ग) मा ९७.७१ प्रतिशत मत खसेको तथ्यांक छ । पुनः मतदानको निर्णय भएका १० केन्द्रमा कुल आठ हजार ५१४ मतदाता छन् भने पाँच हजार ५७८ मत खसेको थियो ।
ad
ad