१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चार पार्टीका अध्यक्ष निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o३:oo

माओवादी अध्यक्ष प्रचण्ड गोरखा २, एकीकृत समाजवादीका अध्यक्ष नेपाल रौतहट १, राप्रपा अध्यक्ष लिङ्देन झापा ३ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने चितवन २ बाट विजयी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित उनी विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत पाए । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मत प्राप्त गरेका छन् ।

चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । उनी ३४ हजार एक सय ६२ मतान्तरले निर्वाचित भएका हुन् । लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् ।

झापा ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले कांग्रेस नेता सिटौलालाई पराजित गरेका हुन् । लिङ्देनले ४० हजार ६ सय ६२ र सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गरेका छन् । लिङ्देन दोस्रोपटक विजयी भएका हुन् । ०७४ को निर्वाचनमा पनि लिङ्देन र सिटौलाबीच नै प्रतिस्पर्धा भएको थियो ।

स्वतन्त्र पार्टीको उदयबाट कोही आत्तिनुपर्दैन : लामिछाने

भरतपुर/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको उदयले कोही पनि आत्तिनुपर्ने नभएको बताएका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि भरतपुरमा बिहीबार आयोजित धन्यवाद सभामा उनले जनताले दिएको अवसर दुरुपयोग नगर्न ठूला दललाई आग्रह गरे । ‘सम्मानपूर्वक हैसियतमा रहेर सहकार्य गर्न तयार छौँ । हाम्रो आगमनलाई लिएर कोही पनि आत्तिनुपर्दैन,’ उनले भने । 

जनताले यसपटक फेरि पुराना दललाई अवसर दिएको भन्दै जनताबाट प्राप्त शक्ति आफ्नो अघिल्ला वर्षमा जस्तै नेपाली जनतालाई छल्ने, भ्रष्टाचारमा फस्ने, मुलुकलाई फसाउने, कार्यकर्ता पोस्ने, आफ्ना लागि मात्र सोच्ने काम भयो भने यो घन्टीको आवाज सुन्न नसक्ने गरी बज्नेसमेत उनले चेतावनी दिए । दलहरू नसुध्रिए अबको पाँच वर्षपछि देशभर घन्टी मात्रै बज्ने उनको दाबी थियो ।

‘यसपटक पनि जनताले पुराना दललाई जिताएका छन् । जनताले दिएको अवसर दुरुपयोग नगर्नुहोला । हामी घन्टी लिएर निस्किएका छौँ । तपाईंहरू नसुध्रिए पाँच वर्षपछि यस्तो घन्टी बज्नेछ, तपाईंहरूको कानले सुन्न सक्नेछैन,’ उनले भने । 

ad
ad