Skip This
बहुमतको टुंगो छैन, कांग्रेसमा प्रधानमन्त्रीका ६ आकांक्षी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर ८ बिहीबार o६:२८:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बहुमतको टुंगो छैन, कांग्रेसमा प्रधानमन्त्रीका ६ आकांक्षी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार o६:२८:oo

संसद्को ठूलो दल बन्ने सम्भावना बढेपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्ने होडबाजी

सत्ता गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने–नगर्ने अझै अनिश्चित छ । तर, निर्वाचनमा ठूलो दल बन्ने लगभग निश्चित भएको कांग्रेसभित्र प्रधानमन्त्री बन्न दाबेदारी सुरु भएको छ । निर्वाचन परिणाम आउने क्रमसँगै नेताहरूले संसदीय दलको नेतृत्व लिने तयारी थालेका छन् । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था छ । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । मंगलबारसम्ममा वरिष्ठ नेता पौडेलबाहेक तीन नेता निर्वाचित भइसकेका छन् । पौडेलले तनहुँ १ मा निरन्तर अग्रता बनाइरहेका छन् । 

देउवाले प्रधानमन्त्रीको दाबीबारे हालसम्म मौनता साधेका छन् । तर, संस्थापनपक्षीय नेताले भने देउवाको विकल्प नरहेको बताउँदै आएका छन् । वरिष्ठ नेता पौडेलले भने निर्वाचनपछि कार्यकारी भूमिकामा आफ्नो हस्तक्षेप रहने सार्वजनिक रूपमा नै भन्दै आएका छन् । 

थापाले निर्वाचित भएलगत्तै आफू संसदीय दलको नेताको तयारीमा लागेको घोषणा गरिसकेका छन् । थापाले निर्वाचनमा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मत मागेका थिए । निर्वाचनको परिणामसँगै प्रधानमन्त्रीको दाबी अनुमोदन भएको थापाको भनाइ छ । ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । अहिले जनताले स्थायित्वसँगै देशलाई हाँक्ने नयाँ चालक पनि चाहेका छन्, त्यो चालक कांग्रेसभित्रै छ,’ निर्वाचित भएपछिको कार्यक्रममा सम्बोधन गर्दै थापाले भनेका थिए, ‘पार्टीभित्र पनि नयाँ नेतृत्वका विषयमा बहस भइरहेको छ, संसदीय दलदेखि सरकारको नेतृत्वमा नयाँ चालक हुनुपर्ने अपेक्षा छ, देशभरबाटै यो विचार व्यक्त भएको हुँदा सम्मान गर्नुपर्छ ।’ 

थापाको प्रस्तावलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्दै उनलाई आफूले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन् । निर्वाचनपछि पनि उनको प्रतिबद्धता निरन्तर छ । शर्मा झापा १ बाट १४ हजार १७५ को फराकिलो मतान्तरसहित निर्वाचित भइसकेका छन् । शर्माले थापालाई विजयको शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नु छ !’ 

निर्वाचित भएपछि सिंहले पनि आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गरेका छन् । सिंहले आफूले ०७४ को निर्वाचनमा नै संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको भन्दै प्रधानमन्त्रीका लागि अफर आएको खण्डमा आफू पछि नहट्ने बताएका छन् । 

परिणामपछि सल्लाहमा आफू अघि बढ्ने उनको भनाइ छ । ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आमनिर्वाचनमा पनि म कांग्रेसको संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गरेकै हो,’ उनले भने, ‘देशभरबाट कांग्रेसका सांसद जितेर आउनेहरूसँग छलफल हुन्छ, संसदीय दलको नेता छान्न प्रोसेस हुन्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने हो ।’ उनको भनाइ छ, ‘म प्रधानमन्त्रीका लागि योग्य छु, च्यालेन्ज मिट गर्नका लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’ 

२१ फागुन ०७४ मा भएको संसदीय दलको नेताको निर्वाचनमा सिंहले देउवासँग प्रतिस्पर्धा गरेका थिए । त्यसवेला ६३ सांसद रहेकोमा सिंहले १९ र देउवाले ४४ मत पाएका थिए । यसका लागि सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति देउवासँग छलफल थालेका छन् । देउवानिकट स्रोतका अनुसार मंगलबार सिंहले देउवालाई भेटेर यसबारे छलफल गरेका थिए । ‘उहाँले बालुवाटार आएर सभापतिज्यूसँग भेट गर्नुभएको थियो । भेटमा शुभकामना आदानप्रदान र संसदीय दलको नेतालगायत समसामयिक विषयमा छलफल भयो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो । स्रोतका अनुसार पौडेलले पनि आफू जितनजिक रहेको आकलनसहित देउवासँग विभिन्न माध्यमबाट छलफल गरिरहेका छन् । 

एमालेबाट ओली नै प्रधानमन्त्रीका दाबेदार 
एमालेले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी ओलीलाई अगाडि सारेर निर्वाचनमा होमिएको थियो । एमालेले निर्वाचनअघि नै ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट सर्वसम्मत निर्णय गरिसकेको छ । परिणामले एमाले दोस्रो पार्टी बन्ने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा गडबड र नयाँ समीकरण बने ओलीलाई प्रधानमन्त्री बन्ने विकल्प खुला हुनेछ । 

अन्योलमै प्रधानमन्त्रीमा प्रचण्डको दाबी 
सार्वजनिक रूपमै दाबी नगरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाह व्यक्त गरेका थिए । १८ कात्तिकमा गोरखामा सत्तागठबन्धनको भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफूलाई निर्वाचनपछि देशको कार्यकारी भूमिकामा रहने सम्भावना औँल्याएका थिए । ‘यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ । यसर्थ तपाईंहरूले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबार र प्रदेश दुवैतिर बलियो हुन्छ र गोरखाको विकास–निर्माण र समृद्धिको यात्रा तीव्र गतिमा अगाडि बढ्छ,’ उनको भनाइ थियो । 

गठबन्धन र माओवादी केन्द्रलाई अपेक्षित मत आउन नसकेपछि प्रचण्डमाथि दबाब बढेको छ । ३० असोजमा काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरका थिए । नेपालले भने प्रधानमन्त्रीको इच्छा देखाएका छैनन् ।