१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

स्पेनमा सिंगो गाउँ नै बिक्रीमा !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३२:oo

सामान्यतः मानिसहरूबीच कुनै अपार्टमेन्ट वा घरजग्गाको खरिदबिक्री हुन्छ । कसैले आफ्नो घर बेचेर अर्कोे घर किन्न सक्छन् । तर, स्पेनमा भने एउटा सिंगो गाउँ नै बिक्रीमा राखिएको छ, जुन गाउँलाई जोसुकैले किन्न सक्नेछन् । उत्तर–पश्चिमी स्पेनको साल्टो डे क्यास्ट्रो गाउँ नै बिक्रीमा छ भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, यो बिक्रीमा राखिएको छ र गाउँको मूल्य दुई लाख ६० हजार युरो (दुई लाख २७ हजार पाउन्डस्टर्लिङ) तोकिएको छ ।

पोर्चुगलको सिमानामा पर्ने जामोरा प्रान्तमा अवस्थित साल्टो डे क्यास्ट्रो गाउँमा साना स्पेनी नगरमा देख्न सकिनेजस्ता थुप्रै भवन छन् । स्पेनको राजधानी म्याड्रिडबाट तीन घन्टाको सडक दूरीमा रहेको उक्त गाउँमा ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, नगरीय स्विमिङ पुल र चौकीदार राख्ने एउटा ब्यारेक पनि छ ।

तर, यहाँ एउटा कुरा भने छैन । यहाँ बस्ने मानिस छैनन् । साल्टो डे क्यास्ट्रो तीन दशकभन्दा बढी समयदेखि परित्यक्त छ । यसका मालिकले सन् २००० को सुरुमा यो गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा रूपान्तरण गर्ने उद्देश्यले किनेका थिए । तर, युरोजोन संकटले गर्दा उनको योजनाले साकार रूप लिन सकेन ।‘मालिकको यहाँ होटेल बनाउने सपना थियो, तर यी सबै योजना रोकिए’, गाउँका मालिकको प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका कर्मचारी रोनी रोड्रिग्जले भने, ‘उनी अझै पनि प्रस्ताविक परियोजना साकार भएको देख्न चाहन्छन्’, सम्पत्ति सूचीबद्ध भएको आइडियालिस्टा वेबसाइटमा यो गाउँका मालिक भन्छन् । जो अहिले ८० को दशकमा हिँडिरहेका छन् । ‘म सहरी बासिन्दा हुँ र गाउँको मर्मत–सम्भार गर्न नसकेकाले बेच्दै छु ’, उनी थप्छन् । 

सन् १९८० को दशकदेखि निर्जन रहेको साल्टो डे क्यास्ट्रोको मूल्य दुई लाख ३० हजार युरो राखिएको छ

बिक्रीका लागि एक हप्ताअघि वेबसाइटमा सूचीबद्ध गरेपछि यसलाई ५० हजारभन्दा बढीले हेरेका छन् । गाउँ बिक्रीको सूचनाले धेरैको ध्यान खिचेको छ । रोड्रिग्जका अनुसार रुस, फ्रान्स, बेल्जियम र बेलायतबाट समेत सम्पत्तिबारे सोधपुछ गरेर जानकारी लिएका छन् । उनीहरूमध्ये तीन सयजतिले खरिद गर्न चासो देखाएको र एक सम्भावित खरिदकर्ताले त खरिदका लागि केही रकम बैना नै बुझाइसकेको बताउँछन् उनी ।

साल्टो डे कास्ट्रोको निर्माण सन् १९५० को दशकमा विद्युत् उत्पादन गर्ने एउटा कम्पनी इबर्डिउरोले जलाशय निर्माण गर्ने कामदार र तीनका परिवारलाई राख्न गरेको थियो । तर, गाउँ निर्माण पूरा भएपछि उनीहरू त्यहाँबाट हिँडे । यो गाउँ सन् १९८० को दशकदेखि नै पूर्ण रूपमा रित्तिएको थियो । यसवरपरको क्षेत्र ‘खाली स्पेन’को रूपमा परिचित छ, जहाँ सहरमा पाइने धेरैजसो सेवा–सुविधाको अभाव छ ।

साल्टो डे कास्ट्रोलाई यसअघि ६५ लाख युरोमा बिक्रीको लागि राखिएको थियो । तर, कुनै खरिदकर्ता नहुँदा र केही भवन भत्किएकाले यसको मूल्य घटेको छ । सिंगो गाउँका लागि राखिएको बिक्रीमूल्य दुई लाख ६० हजार युरोले म्याड्रिड वा बार्सिलोनाको सुविधायुक्त क्षेत्रमा एउटा बेडरुमको अपार्टमेन्ट आउँछ । आइडियलिस्टाको वेबसाइटमा लेखिएको छ, ‘गाउँलाई शतप्रतिशत बस्नयोग्य र नाफामुखी बनाउन थप २० लाख युरोभन्दा बढी लाग्नेछैन ।’

ad
ad