• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विदुर पौडेल सिन्धुली
२०७९ जेठ ३ मंगलबार ०७:३२:००
निर्वाचन

सिन्धुलीका तीन पालिकामा गठबन्धन विजयी

विदुर पौडेल सिन्धुली
२०७९ जेठ ३ मंगलबार ०७:३२:००

जिल्लाका तीनवटा पालिकाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । मतगणना सम्पन्न भएका तीनवटै पालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कर्ण थापा र जगतबहादुर भोलन विजयी भए भने हरिहरपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बज्रध्वज वाइवा विजयी भएका छन् । तीनवटै पालिकामा उपाध्यक्षमा पनि गबवन्धनकै उमेदवारहरू विजयी भएका छन् । 

थापाले नौ हजार दुई सय ३९ प्राप्त गरेका थिए भने दाहालले आठ हजार ४२ मत प्राप्त गरेका छन् । तीनपाटन गाउँपालिकाको २, ३, ४, ६, ७, ८, ९, १०, ११ वडामा नेपाली कांग्रेस र १ र  ५ नम्बर वडामा नेकपा एमाले जित हात पारेको छ । थापा यसअघि पनि गाउँपालिकामा एमालेका दाहाललाई १९ मतले पराजित गरी विजयी भएका थिए । यस पालिकाको उपाध्यक्षमा गठबन्धनका (नेकपा माओवादी केन्द्र) उम्मेदवार धनबहादुर पुलामी  आठ हजार तीन सय ९९ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेकी पदम माया तामाङ सात हजार नाै सय आठ मत प्राप्त गरिन्।

घ्याङलेख गाउँपालिका अध्यक्ष भोलनले नेकपा एमालेका उम्मेदवार चर्तुमान लोलाई सात सय ४९ मतान्तर निकाल्दै विजयी भएका हुन् । भोलनले दुई हजार एक सय दुई मत प्राप्त गरेका हुन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार लोले एक हजार तीन सय ५३ मत प्राप्त गरेका थिए । भोलन ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यस गाउँपालिकामा निर्वाचित भएका थिए । यस गाउँपालिकामा कांग्रेसले वडा अध्यक्षहरू भने कुनै पनि जितेको छैन । यसै पालिकामा उपाध्यक्षमा माओवादी केन्द्र (गठबन्धन) बाट शंकरमान घलान दुई हजार नाै सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी प्रमिला वाइवाले एक हजार पाँच सय २८मत  प्राप्त गरेकी छिन् । 

वडाध्यक्षमा भने वडा नम्बर १ मा सोमबहादुर भोलन, वडा नम्बर २ मा  रोसनकुमार भोलन, वडा नम्बर ४ मा अमृतकुमार वाइवा, वडा नम्बर ५ मा ज्ञानबहादुर सिँजाली (माओवादी केन्द्र)बाट विजयी भए भने वडा नम्बर ३ मा एमालेका  निश्चल सुनुवार विजयी भएका हुन् । यसैगरी जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बज्रध्वज वाइवा विजयी भएका छन् । वाइवाले चार हजार सात सय २९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर वाइवाले तीन हजार ६ सय १६ मत मत गरेका छन्  । पालिकाको उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका चेकबहादुर थिङले पाँच हजार सात सय तीन मत ल्याएर विजयी भए भने नेकपा एमालेकी निर्मला मगर दुई हजार आठ सय ५५ मत मात्र प्राप्त गर्न सफल भइन् । 

गाउँपालिकाको १ नम्बर वडामा नेकपा एमाले, २ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन् ।