मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १२ शुक्रबार १o:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशी बाढीपीडितका लागि राहतमा समन्वय गर्न प्रधानमन्त्री सचिवालयको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १o:५८:oo

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्रै राहत तथा उद्धारमा सहभागी हुन अपिल गरेको छ।

प्रधानमन्त्रीकाे सचिवालयले विपतकाे कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको उल्लेख गर्दै पूर्वसमन्वयविना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा जाने क्रम बढेकामा चिन्ता व्यक्त गरेको छ।

यसरी व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र ट्राफिक जाम सिर्जना भएको सचिवालयको भनाइ छ। ट्राफिक जामका कारण आपतकालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न कठिन हुनुका साथै नेपाल सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारीसमेत समयमै गन्तव्यमा पुग्न नसकेको सचिवालयले जनाएको छ।

जोखिमयुक्त भूगोल र विषम परिस्थितिमा पूर्वतयारी तथा समन्वयविना प्रभावित क्षेत्रमा पुग्दा स्वयं राहतदाताको सुरक्षामा समेत जोखिम बढेको सचिवालयले जनाएको छ।

सचिवालयले अबदेखि राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न चाहने नागरिक तथा संस्थालाई अनिवार्य रूपमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री संकलन तथा परिचालन गरी प्रभावित स्थानमा पुर्‍याउने एकीकृत व्यवस्था मिलाउने जनाएको छ।

प्रधानमन्त्रीकाे सचिवालयले नागरिक तथा सामाजिक संस्थाको सहयोग र सदभावको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत उपलब्ध गराई उद्धार कार्यमा सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेको छ।