चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै बग्ने भोटेकोशीमा बुधबार आएको भीषण बाढीले नेपाल–चीन जोड्ने महत्वपूर्ण उत्तरी नाका रसुवा–केरुङ पुनः क्षतिग्रस्त बनेको छ । ठुलो मानवीय क्षति गराएको यस बाढीले दुवैतर्फका सडक, भवन, विद्युत्, सञ्चारलगायतका भौतिक संरचनाहरूसमेत क्षतिग्रस्त बनाएको छ । भन्सार यार्डमा आइपुगेका, जाँचपास हुँदै गरेका तथा गोदाममा रहेका मालवस्तु बगाएको छ । योसँगै रसुवा–केरुङ नाका अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
२४ असार ०८२ मा आएको बाढीले पनि रसुवा–केरुङ नाकामा ठुलो क्षति पुर्याएको थियो । उक्त बाढीले दुई मितेरी पुल, निर्माणाधीन सुक्खा बन्दरगाह, नेपालतर्फको सडकलगायत संरचना बगाएर दुई देशबिचको नाका बन्द भएको थियो । रसुवागढीको मितेरी पुल बाढीले बगाएर सडक सम्बन्धविच्छेद भएसँगै त्यहाँबाट हुने दुई अन्तर्राष्ट्रिय व्यापार तथा यात्रुको आवातजावत पूर्णरूपमा रोकिएको थियो । बाढी आएको ६ महिनापछि चीन सरकारले मितेरी पुल बनाएपछि गत वर्ष पुसबाट नाका पुनः सञ्चालनमा आएको थियो । अहिले झन् ठुलो बाढी आएपछि दुई देशबिचको व्यापार र आवागमन पूर्ण रूपमा रोकिएको मात्र छैन, अनिश्चितसमेत बनेको छ ।
बुधबार आएको बाढीले भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कबाहिर रहेको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, व्यापारसँग सम्बन्धित सयौँ मानिस सम्पर्कविहीन अवस्थामै रहेको व्यवसायीहरूले बताएका छन् । बाढीले दुवै तर्फका भन्सार कार्यालयमा ठुलो जनधनको क्षति पुर्याएको छ । यससँगै स्थलमार्ग हुँदै अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिएको रसुवा–केरुङ नाका तहसनहस बनाएको नेपाल–चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर बताउँछन् । ‘अकल्पनीय क्षति भयो, यो नाका रिभाइभ हुन दुई–तीन वर्ष नै लाग्ने देखिन्छ,’ उनले भने, ‘मानवीय क्षतिसँगै हजारौँको रोजगारी गुम्यो, व्यवसाय डुब्यो, यसले अर्थतन्त्रमै गहिरो प्रभाव पार्नेछ ।’
रसुवागढीमा सामानसहितका तीन सय कन्टेनर र तीन सय विद्युतीय गाडी बगायो
बाढीले नेपाल र चीन गरी दुवैतर्फका तीन सय हाराहारी कन्टेनर बगाएको नेपाल हिमालयन सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले बताए । ‘नेपालतर्फ दुई सय २० देखि दुई सय ४० हाराहारी र चीनफर्त ३०–४० वटा सामान बोकेका कन्टेनर थियो, जाँचपास भइसकेका पनि थिए,’ उनले भने, ‘ती कति बगाए, कति पुरिए, मानिस पनि बगायो, सामान पनि बगायो, केही बाँकी राखेन, यसपटकको बाढीले रसुवा–केरुङ नाकालाई ध्वस्त पारिदिएको छ ।’ खासगरी दसैँ–तिहारलक्षित सामग्री बोकेका कन्टेनर बगाएको उनले बताए । ‘मानवीय क्षतिको तुलनामा व्यापारको कुरा त हुँदैन,’ उनले भने, ‘तर, रोजगारी र व्यापार पनि तहसनहस भयो, व्यवसायी पनि समस्यामा पर्ने भए ।’ चीनबाट काठमाडौं ल्याउन थालिएका तीन सय हाराहारी विद्युतीय कारसमेत बाढीले बगाएको संघका अध्यक्ष तुलाधरले बताए ।
तातोपानी पूर्ण रूपमा नचल्दा रसुवामा बढी क्षति
ठाउँ–ठाउँमा पहिरो आएका कारण असार अन्तिमदेखि तातोपानी नाका झन्डै डेढ महिना बन्द भयो । १ साउनदेखि बन्द भएको तातोपानी नाका ८ भदौदेखि मात्रै आंशिक रूपमा खुलेको छ । तातोपानी नाका बन्द भएपछि व्यवसायीले आयात–निर्यातका लागि रसुवा नाकालाई केन्द्रित गराए । यसले गर्दा पनि बुधबारको बाढीले रसुवामा ठुलो क्षति पुर्याएको व्यवसायीहरू बताउँछन् । ‘यदि तातोपानी नाका सहज र पूर्णरूपमा चलेको भए रसुवा नाकामा चाप कम हुन्थ्यो जसले गर्दा मानवीय र अन्य क्षति पनि कम हुन्थ्यो,’ अध्यक्ष कार्कीले भने ।
विगतमा सिन्धुपाल्चोकको तातोपानी नाका नेपाल–चीन व्यापारको मुख्य केन्द्र थियो । तर, ०७२ को विनाशकारी भूकम्पपछि उक्त नाका लामो समयसम्म अवरुद्ध भयो । त्यसपछि रसुवा नाका नेपालको उत्तरी व्यापारको मुख्य केन्द्रका रूपमा विकास भएको थियो । तर, यो नाका पनि बाढी र पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
नेपाल र चीनबिच गत आर्थिक वर्षमा चार खर्ब २७ अर्ब १३ करोड रुपैयाँबराबरको व्यापार भएको थियो । यसमध्ये रसुवा नाकाबाट ४६ अर्ब ६३ करोड र तातोपानी नाकाबाट ४७ अर्ब ४८ करोडको व्यापार भएको थियो । नेपालको कुल आयातमध्ये २.१८ प्रतिशत रसुवा नाका र २.२७ प्रतिशत तातोपानी नाकाबाट हुने गरेको छ । तातोपानी नाकाबाट निर्यात भएको देखिँदैन भने रसुवाबाट कुल निर्यातको ०.२८ प्रतिशत अर्थात् ८९ करोड ४६ लाख रुपैयाँबराबर भएको देखिन्छ ।
किन महत्वपूर्ण छ रसुवा–केरुङ नाका
काठमाडौंबाट करिब एक सय ५२ किलोमिटर उत्तरमा रहेको रसुवा–केरुङ नाका नेपाल–चीनबिच हुने आयात–निर्यात व्यापार, राजस्व संकलन, सीमा व्यवस्थापन तथा आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण मानिन्छ । सन् २०१७ देखि अन्तर्राष्ट्रिय नाकाका रूपमा सञ्चालन हुँदै आएको रसुवा–केरुङबाट विद्युतीय सामग्री, तयारी पोसाक, जुत्ता–चप्पल, निर्माण सामग्री, कृषि उत्पादन, दूरसञ्चार उपकरण, सवारीसाधन तथा औद्योगिक मेसिनरीजस्ता मालवस्तु नेपालतर्फ आयात हुन्छन् । त्यस्तै, नेपालबाट गलैँचा, हस्तकला सामग्री, उनी कपडा, जडीबुटी, चाउचाउ, तामाका भाँडाकुँडा तथा विभिन्न कृषि उपज चीनतर्फ निर्यात हुने गरेको छ । चीनको तिब्बतमा रहेको प्रसिद्ध धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको यात्रा गर्ने तीर्थयात्रीहरूले पनि रसुवागढी नाकालाई महत्वपूर्ण मार्गका रूपमा प्रयोग गर्दै आएका छन् । नेपाल र चीन दुवैले रसुवा नाकालाई प्राथमिकतामा राखेर पूर्वाधार विकास गर्दै आएका थिए । चीन सरकारको सहयोगमा गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति भइरहेको छ । यस मार्गका लागि भन्दै टोखा–छहरे सुरुङमार्गको निर्माणको प्रक्रियासमेत अघि बढाइएको छ । रसुवा भन्सार कार्यालये एसुकुडा वर्ल्ड, नेपाल एकद्वार प्रणालीजस्ता सूचना प्रविधिमा आधारित आधुनिक प्रणाली प्रयोग गर्दै आएको छ । तर, भौगोलिक जटिलता र प्राकृतिक प्रकोपले भने यस नाकाको मुख्य चुनौती देखिएको छ ।