सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पीडितको सहयोगका लागि संघीय सरकारलाई दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट प्रदेशको विपत् व्यवस्थापन कोषमा रहेको दुई करोड रुपैयाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीको एक महिनाको पारिश्रमिक पनि बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए ।
यसअघि बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गरेको थियो। उद्धार, राहत र पुनर्स्थापनामा सबै प्रकारको सहयोग गर्न तथा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यमा सुदूरपश्चिम सरकारको पूर्ण ऐक्यबद्धता रहेको प्रवक्ता रावलले बताए ।