नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी एकताका लागि त्रुटी भएकै ठाउँबाट सच्चिनुपर्ने बताएका छन्।
शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थमा पुगेकाले त्यही अवस्थाबाट त्रुटी सच्याइनुपर्ने प्रष्ट पारे। एकपटक फेरि निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध गर्ने प्रयास गर्नुपर्नेमा उनको जोड थियो।
देउवाले आफू पुनः सभापतिको प्रतिस्पर्धामा नरहेको पहिले नै घोषणा गरिसकेको स्मरण गराउँदै लेखकले भने, ‘नेतृत्व परिवर्तनकै प्रश्न थियो भने आदरणीय नेता शेरबहादुर दाइले वैधानिक रुपले पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन।’
नेता लेखकले चौधौं महाधिवेशन र विशेष महाधिवेशन दुवैको कार्यसमितिलाई मिलाएर १५औं महाधिवेशनको तयारी गर्नुपर्ने बताए। उनले भने, ‘१४औं महाधिवेशन र विशेष महाधिवेशनमा बसेको कार्यसमिति दुईवटैलाई एक ठाउँमा राखेर अगाडी बढौं।’