Skip This
६ लाख ऋणको २० लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
सौरभ यादव सप्तरी
२o८३ श्रावण २६ मंगलबार o६:४६:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ लाख ऋणको २० लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार

विपन्नका जग्गा दृष्टिबन्धक गराएर चर्को ब्याजमा दिन्थिन् ऋण

Read Time : > 4 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार o६:४६:oo

सप्तरीमा मिटरब्याजी फूलकुमारीको आतंक

सप्तरीको खडक नगरपालिका– १०, डंगराहीकी फूलकुमारी साह । मिटरब्याजमा पैसा लगाउने उनको धन्दाले स्थानीय क्षेत्रका कैयौँ विपन्नको उठीवास भएको छ । उनले ऋण दिँदा ‘बन्धकी राख्ने’ भनेर ऋणीको जग्गा नै आफू, परिवारका सदस्य र आफन्तको नाममा गराएको भेटिएको छ । जबकि लिएको रकमको पाँच गुणासम्म तिर्दा पनि जग्गा फिर्ता नपाएपछि राज्य गुहारेका विपन्नले वर्षौँसम्म पनि न्याय पाएका छैनन् ।

डंगराहीकै ५५ वर्षीय दिरिपलाल साहले गाउँमै उद्यम गर्न भनेर फूलकुमारीसँग लिएको दुई लाख ऋणले घरघडेरीसहितको एक कट्ठा पाँच धुर जग्गा मात्रै खाइदिएन, उनले ज्यानै फाल्ने अवस्था निम्त्याइदियो ।

ऋण लिँदा बन्धकी राख्ने भनेको एक कट्ठा पाँच धुर जग्गा फूलकुमारीले श्रीमान् गयाप्रसाद साहको नाममा पास गराएकी थिइन् । दिरिपलालकी श्रीमती लिलिताका अनुसार पटक–पटक गरेर एक लाख ४० हजार ऋण बुझाएको र बाँकी तिर्नुपर्ने रकम १० धुर जग्गा बेचेर लिन आग्रह गरे पनि उल्टै जग्गा अर्को व्यक्तिलाई बेचिदिएपछि श्रीमान्ले करेन्ट लगाएर आत्महत्या गरेको कारुणिक घटना सुनाइन् ।

लिलिताका अनुसार श्रीमान्ले फूलकुमारीसँग दुई लाख ऋण थ्रेसर मेसिन किन्न ०७३ मा लिएका थिए । त्यसबापत इनर्वा फुलबरिया– २ मा कित्ता नम्बर २५३ को एक कट्ठा पाँच धुर जग्गा घडेरी फूलकुमारीले श्रीमान् गयाप्रसादको नाममा पास गराएकी थिइन् । सुरुका दिनमा थ्रेसरले राम्रै आम्दानी गरेकाले खुरुखुरु तिर्दै एक लाख ४० हजारसम्म तिरे । तर, पछि थ्रेसरको कमाइ घट्न थालेपछि घरखर्च धानेर किस्ता तिर्न कठिन हुन थाल्यो । त्यसपछि सुरु हुन थालेको थियो फूलकुमारीको आतंक ।

‘साँवा, ब्याज तिर्न कठिन हुन थालेपछि दिन–रात घरमा गुन्डाहरू पठाएर होहल्ला गर्न थाले । मैले महाजनलाई बन्धकीको १० धुर जग्गा बेचेर हरहिसाब गरी बाँकी पैसा लिनुस् भनेर पटक–पटक हात जोडेँ । तर, उनले पैसा नदिए घरबाट निकालेर जग्गा बेचिदिने धम्की दिन थाले । पछि आफूहरू बसेको घरसहितको जग्गा स्थानीय जगरनाथ साहुलाई बेचिदिए,’ ललिताले भनिन्, ‘निरन्तर धम्की र गुन्डागर्दीपछि घर छाड्न बाध्य भयौँ । उठीवास लागेर सडकमा पुग्नुपर्दाको तनाव सहन नसकेर ०७९ मा श्रीमान्ले आफ्नै शरीरमा करेन्ट लगाएर आत्महत्या गर्नुभयो । काजकिरिया पनि गाउँमा चन्दा उठाएर गर्नुपर्‍यो ।’

फूलकुमारीले उठीवास लगाएपछि सडकमा पुगेको परिवारलाई केही महिनापछि ललिताकी दिदीले आश्रय दिएकी थिइन् । अहिले पनि ललिता दिदीकै घरमा आश्रित छिन् । १६ र १४ वर्षका दुई छोरा र ११ वर्षकी छोरीको अभिभावक ललिता अरूको खेतबारीमा काम गर्छिन् । दिउँसो केही समय स्थानीय जनता मावि रामपुर जमुवामा खाना पकाउँछिन् । विद्यालयबाट आउने धेरथोर पैसाले परिवार धानेकी छिन् । ‘परिवार मुस्किलले चलेको छ । बिचमा छोरी कडा बिरामी परी, उसलाई बचाउन पनि गाउँमा चन्दा माग्नुपर्‍यो,’ उनले भनिन् । 

फूलकुमारीको आतंक व्यहोर्ने ललिताको परिवार एक्लो होइन । योसहित २१ परिवार पीडित छन् । र, उनीहरूले फूलकुमारी, उनका श्रीमान् गयाप्रसाद र उनका बुबा राजगढ गाउँपालिका– ५, मलेकपुरका भागवत साहविरुद्ध तीन वर्षअघि नै जिल्ला प्रशासन कार्यालय सप्तरीमा अनुचित लेनदेनको उजुरी दिएका थिए । तर, प्रशासनले पनि आफूहरूको न्यायका लागि पहल नगरेको पीडितहरूको गुनासो छ ।

सगुनीकुमारी सरदार

डंगराहीकी सगुनीकुमारी सरदारलाई श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाउन र छोरीको विवाह गर्न पैसा चाहिने भयो । ०७२ मा फूलकुमारीले एक लाख ५० हजार ऋण दिइन्, तर सगुनीको इनरुवा फुलबरिया– ४ स्थित कित्ता नम्बर १९५ को ६ कट्ठा ११ धुर जग्गा आफ्नो नाममा पास गराइन् । डेढ लाख ऋणको पटक–पटक गरी १५ लाख रुपैयाँ बुझाइसक्दा पनि जग्गा फिर्ता नदिएको सगुनीको गुनासो छ । ‘ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सर्तमा साहुकारको नाममा पास गरिदिएको हो । तर, ऋणको १० गुणा बढी १५ लाख बुझाइसक्दा पनि जग्गा अझै फिर्ता गरेकी छैनन् । जग्गा पचाएर हामीलाई बेघर बनाउने खेल भयो,’ सगुनीले भनिन् ।

साहुकारले जग्गा कब्जा गरेपछि पीडित प्रशासनको दैलोमा पुगिन् । तीन वर्षदेखि लगातार जिल्ला प्रशासन धाउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘हामी सोझा दलित–गरिबका कुरा सुनिदिने कोही भएनन् । भएभरको जग्गा मिटरब्याजीले कब्जा गरेर बसेका छन्, हामीले कसरी न्याय पाउने ?’ आँसु पुछ्दै सगुनीले प्रश्न गरिन् ।

डंगराहीकै जितनीदेवी पासवान पनि छोरीको विवाह उम्काउन खर्च जुटाउनुपर्ने भएपछि फूलकुमारीकहाँ पुगिन् । यो ०६९ को कुरा हो । फूलकुमारीले जितनीदेवीलाई एक लाख ४० हजार ऋण दिने भइन्, तर नौ कट्ठा जग्गा आफ्नो नाममा पास गराइन् । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सर्त थियो । तर, साँवा र ब्याजको गरी पाँच लाख ८० हजार तिरिसक्दा पनि अझै १० लाख तिर्न बाँकी रहेको हिसाब देखाउँदै जग्गा फिर्ता नदिएको जितनीदेवीको गुनासो छ ।

‘तय भइसकेको छोरीको विवाह नरोकियोस् भनेर भएभरको जग्गा धितो राखेर चर्को ब्याजमा ऋण लिएँ । छोराले मरुभूमिको गर्मीमा पसिना बगाएर कमाएको पैसा पठाउँदै साहुकारलाई पाँच लाख ८० हजार बुझाइसकियो । तर, अझै १० लाखको हिसाब देखाएर जग्गा फिर्ता गर्न मानिरहेको छैन,’ उनले भनिन्, ‘न्यायका लागि तीन वर्षदेखि जिल्ला प्रशासन कार्यालय धाएको धायै छु । तर, सुनुवाइ नै हुँदैन ।’

पवित्रीदेवी सरदार

मिटरब्याजी फूलकुमारीबाटै पीडित छिन् पवित्रीदेवी सरदार । डंगराहीकै उनले ६ वर्षअघि ०७७ मा श्रीमान्लाई विदेश पठाउन र छोरीको बिहे गर्न ६ लाख ऋण लिएकै थिइन् । यसबापत तीन कट्ठा १० धुर जग्गा फूलकुमारीको बुबा भागवतको नाममा पास गरिदिइन् । तर, अहिलेसम्म ब्याजसहित २० लाख बुझाइसक्दा पनि जग्गा फिर्ता नपाएको उनको गुनासो छ । ‘लिएको ऋण जम्मा ६ लाख हो । त्यसपछि साहुले भनेअनुसार खुरुखुरु बुझाउँदा अहिलेसम्म २० लाख तिरिसकेँ । श्रीमान्ले विदेशमा पसिना बगाएर पठाउनुभयो, मैले साहुलाई बुझाएँ । तर, साहुकार फूलकुमारीले मेरो जग्गा अझै फिर्ता दिएकी छैनन्,’ जिल्ला प्रशासन कार्यालयमा तीन वर्षअघि नै उजुरी दिएको सुनाउँदै उनले भनिन्, ‘हाम्रो पीडा राज्यले पनि सुन्दैन भने अब कहाँ जाने ?’

डंगराहीकै उर्मिला चौधरीले पनि श्रीमान्लाई विदेश पठाउने क्रममा ६ वर्षअघि मेडिकल गराउन फूलकुमारीसँग २५ हजार लिएकी थिइन् । त्यो २५ हजार दिन पनि फूलकुमारीले उर्मिलाको दुई कट्ठा १२ धुर जग्गा उनका बुबा भागवतको नाममा तत्कालीन मालपोत कार्यालय सप्तरीमा लगेर पास गराएकी थिइन् । तर, प्राविधिक कारणले उर्मिलाका श्रीमान् विदेश जान भने पाएनन् । पछि छोरा विदेश गएर ऋण तिर्न पैसा पठाए । उर्मिलाका अनुसार २५ हजार ऋणको साँवा र ब्याज गरेर एक लाख ८५ हजार बुझाए पनि जग्गा फिर्ता दिएकी छैनन् । ‘ऋण लिने वेला साहुकारले जग्गा धितो मात्रै राखेको हो भनेकी हुन् । २५ हजार ऋणको एक लाख ८५ हजार बुझाइसकेका छौँ । तर, जग्गा अझै फिर्ता गरेकी छैनन्,’ उर्मिलाले भनिन् । उनले पनि प्रशासन धाउनु मात्रै भएको छ ।

लगानी चौधरीले पाएको प्रताडना झन् अकल्पनीय छ । सात वर्षअघि घरमा पैसाको अभाव भएपछि ५० हजार ऋण लिइन् । साहुकार फूलकुमारीले जमिन राजीनामा गरिदिनुपर्ने सर्त राखिन् । लगानीले १२ धुर रजिस्ट्रेसन पास गरिदिइन् । रोजगारीका लागि भारतको पन्जाब गएका श्रीमान्ले पटक–पटक गरी ३० हजार फिर्ता गरे । पछि बाँकी पैसा जोहो गरेर साहुकारको घर पुगे । तर, अझै तीन लाख बुझाउनुपर्ने भन्दै जग्गा फिर्ता नगरिदिएपछि उनी पनि जिल्ला प्रशासन कार्यालय धाइरहेकी छिन् ।

एउटै साहुकारबाट पीडित भएका विपन्न नागरिकको लर्को लाग्दा पनि जिल्ला प्रशासन कार्यालयले भने गम्भीर रूपमा लिएको देखिँदैन । छानबिन र कारबाही प्रक्रिया अगाडि बढेको छैन । साहुकारले मेलमिलाप गर्न अस्वीकार गरेको छ । यो अवस्थामा फाइल जिल्ला प्रहरी कार्यालयमा पठाएर कानुनी कारबाही अगाडि बढाउनुपर्नेमा जिल्ला प्रशासनले पीडितको निवेदन थन्क्याएर बसेको छ ।

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउने प्रयास गर्छ । यदि साहुकार छलफलमा उपस्थित नभए वा मेलमिलाप गर्न अस्वीकार गरे प्रशासनले सोझै प्रहरीलाई फौजदारी अनुसन्धानका लागि लेखी पठाउन र कारबाही अघि बढाउन निर्देशन दिन सक्छ । तर, सप्तरी प्रशासनले न साहुकार फूलकुमारीलाई कानुनी दायरामा ल्याएको छ, न त पीडितको उजुरीको प्रक्रिया अघि बढाएको छ ।

मिटरब्याजसम्बन्धी उजुरी धेरै संख्यामा परेकाले समय लागेको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । ‘हाम्रो टोली निरन्तर काममा खटिएको छ र छिट्टै नै यो समस्याको समाधान गर्छौँ । कतिपय अवस्थामा एक पक्ष छलफलका लागि आउँदा अर्को पक्ष समयमा नआइदिनाले प्रक्रियामा केही ढिलाइ हुन पुगेको हो,’ उनले भने ।

मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख नै समस्याको बाधक रहेको आरोप लगाएको छ । ‘७७ जिल्लामै सिडिओ र एसपी समस्या समाधानका मुख्य बाधक हुन्,’ आन्दोलनका महासचिव मनोजकुमार पासवानले भने, ‘केन्द्रसँग जतिसुकै वार्ता र सम्झौता भए पनि कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन र प्रहरी नै हो । तर, उनीहरू मिटरब्याजसम्बन्धी समस्या समाधानमा इमानदार छैनन् ।’ साहु–महाजनसँग उठबस गर्ने र साँझ–बिहान समय बिताउने उनीहरूकै कारण पीडितहरू थप प्रताडित भएका छन् ।’