मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १६:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत तीर्थयात्रामा गएको बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १६:४२:oo

भारतको झारखण्डस्थित कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा बस र मालवाहक ट्रक एक–आपसमा ठोक्किँदा रौतहटका तीन तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रुहरू घाइते भएको जनाइएको छ।

गरुडा नगरपालिका– ६, पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्डस्थित वैद्यनाथ धामतर्फ ना.६ख १५५४ नम्बरको बसमा ४५ जना तीर्थयात्री गएका थिए। तीर्थयात्राका क्रममा शुक्रबार बिहान करिब ३ बजे सतगावाँ क्षेत्रमा बस र मालवाहक ट्रक एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा गरुडा– ६, पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको छ। मृतक तथा घाइतेमध्ये अधिकांश पोठियाहीकै बासिन्दा रहेको जनाइएको छ। यद्यपि, मृतक तथा घाइतेको विस्तृत विवरण खुल्ने क्रममा रहेको छ।

बसमा सवार तीर्थयात्रीहरू वासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगिर जाने क्रममा दुर्घटनामा परेका हुन्। भारतीय ट्रकको नम्बर भने खुल्न सकेको छैन। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सतगावाँ थाना प्रमुख बब्लु सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले प्रारम्भिक अनुसन्धानका क्रममा बसचालकलाई अत्यधिक निद्रा लागेको हुन सक्ने देखिएको जनाएको छ। यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

यता, दुर्घटनाको खबर पोठियाही गाउँमा फैलिएपछि गाउँ नै शोकमा डुबेको छ। मृतक तथा घाइतेका आफन्तहरू शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरी भारततर्फ गएको बताइएको छ। तीर्थयात्राका लागि घरबाट निस्किएका गाउँका बासिन्दा दुर्घटनामा परेपछि परिवारजनमा गहिरो शोक छाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले पनि भारतीय सञ्चारमाध्यममा आएको समाचार आफूले सुनेको र देखेको बताए। उनले घटनाबारे थप विवरण प्राप्त हुने क्रममा रहेको जानकारी दिए।