मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २८ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २८ बिहीबार १९:३o:oo
Read Time : > 1 मिनेट
समाचार

लेखा समितिमा आइजिपीमाथि तथ्यहीन टिप्पणी भएको भन्दै खेद प्रकट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २८ बिहीबार १९:३o:oo

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि पूर्वाग्रही टिप्पणी भएको भन्दै नेपाल प्रहरी पूर्वप्रहरी संगठन प्रमुख मञ्चले खेद प्रकट गरेको छ । बिहीबार बिज्ञप्ति प्रकाशन गरी मञ्चले जनताको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी जस्तो गरिमामय संगठन र यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक र नकारात्मक भाष्य निर्माण गर्ने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन नसक्ने उल्लेख गरेको छ । 

बैठकमा रास्वपाका सांसद खगेन्द्र सुनारले आइजिपीको घरबाट तीन करोड चोरी भएको, पोशाक खरिदमा आइजिपीलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने लगायत विषय उठाएका थिए । बैठकमा मानमर्दन गरिएको भन्दै आइजिपी कार्कीले पनि असन्तुष्टि जनाएका थिए । 

यस विषयमा पूर्वप्रहरी अधिकारीले पनि चासो राखेका हुन्। ‘नेपाल प्रहरीको नेतृत्व स्थापित कानुनी प्रक्रिया, व्यावसायिक निष्ठा, विज्ञता र इमानदारीका आधारमा चयन हुने संस्थागत पद हो। तसर्थ, कुनै पनि जनप्रतिनिधिबाट राष्ट्रको जिम्मेवार सुरक्षा निकाय र यसको नेतृत्वमाथि पूर्वाग्रही भई निरन्तर रूपमा गरिने व्यक्तिलक्षित टीकाटिप्पणीप्रति यो मञ्च खेद प्रकट गर्दछ, मञ्चका तर्फबाट अध्यक्ष मोतिलाल बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,‘सभ्य र मर्यादित भाषाशैलीले नै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउँछन्। तसर्थ, माननीयज्यूलाई आफ्नो भाषाशैली र व्यवहारमा सुधार गर्दै पदीय जिम्मेवारीको गाम्भीर्यलाई मनन गर्न र यस्ता मनोगत अभिव्यक्तिहरू नदोहो¥याउन यो मञ्च हार्दिक आग्रह गर्दछ।’ 

 सांसद सुनारबाट नेपाल प्रहरी र वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूलगायतका विषयमा व्यक्त विचार संसदीय मर्यादा, पदीय गरिमा र शिष्टाचारविपरीत रहेको मञ्चको ठहर छ । 

मञ्चको बिज्ञप्तिमा थप भनिएको छ,‘सरकारी एवं संस्थागत विषयका सम्बन्धमा उठ्ने समसामयिक राष्ट्र र जनसरोकारका मुद्दाहरू तथा तिनका उजुरीउपर मुलुकको लघु संसद   का रूपमा रहेका गरिमामय संसदीय समितिहरूमा यथेष्ट छलफल र निर्मम बहस हुनु निश्चय पनि वाञ्छनीय हो। संसदीय समितिको यो प्राधिकारलाई यो मञ्च पूर्णतया सम्मान गर्दछ। तथापि, देश र जनताको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी जस्तो गरिमामय संगठन र यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक र नकारात्मक भाष्य निर्माण गर्ने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन। सांसद जस्तो गरिमायुक्त र जिम्मेवार पदमा आसीन व्यक्तित्वबाट व्यक्त यस्ता अमर्यादित अभिव्यक्तिले संसदीय व्यवस्थाकै साखमाथि प्रश्नचिह्न खडा गर्ने जोखिम रहन्छ।’