
संकटा क्लबले एन्फा यू–१६ युथ लिगमा मनाङ मर्स्याङ्दीलाई २–० ले हराएको छ । मनाङमाथिको रोमाञ्चक जितसँगै संकटाले ६ खेलबाट १५ अंक जोडेको छ । पराजित मनाङ समान खेलबाट ११ अंकका साथ पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार संकटालाई जित दिलाउन नवराज तिरुवा र प्रज्वलकुमार लुम्रेले समान एक गोल गरेका थिए । खेलको ३३औँ मिनेटमा मनाङ १० खेलाडीमा सीमित भएको थियो ।
राहुल लोहारले सीधै रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि मनाङले बाँकी समय १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । यसैगरी, अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले लिगमा दोस्रो जित दर्ता गरेको छ । प्लानिङले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । जितसँगै ६ खेलमा ६ अंक जोडेको प्लानिङ १०औँ स्थानमा उक्लिएको छ । आर्मी समान खेलबाट ३ अंक जोड्दै १३औँ स्थानमा छ । प्लानिङ ब्वाइजलाई जित दिलाउन रविन लुंगेली मगर र आशिक स्याङ्तानले एक–एक गोल गरे । आर्मीका लागि नीरज अधिकारीले गोल फर्काए ।
खेलको नवौेँ मिनेटमा रविनले प्लालिङलाई १–० अग्रता दिलाए । खेलको २४औँ मिनेटमा नीरजले आर्मीलाई १–१ को बराबरीमा ल्याए । खेलको ३१औँ मिनेटमा आशिकले प्लानिङलाई २–१ को अग्रता दिलाए ।