
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन् ।
आजदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगाे पार्टीपंक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई संगठनात्मक रूपमा मजबुद भएको बताए । उनले पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रूपान्तरण गर्न आह्वान गरेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेको र विरोधी तथा अनेक तत्त्वहरूले एमालेमाथि झुट र अफवाहको शैलीमा आक्रमणको निसाना बनाएकाले एकताबद्ध भएर सामना गर्न आग्रह गरेको उनले जानकारी दिए । ‘वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन, तर हामीलाई विवाद र विभाजन गराउने तत्त्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौँ ।’
नेता गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने भन्ने सन्दर्भमा उहाँ र पार्टी अध्यक्ष ओलीबिच आइतबार भएको संवाद र उक्त विषयबारे निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि बैठकमा आउने अपेक्षा गरे ।
प्रचार विभागका प्रमुख गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।