
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरूबारे छलफल भएको हो ।
द्विपक्षीय भेटवार्तापश्चात् चारवटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टेसन निर्माणसम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जसमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्गमिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ।
त्यस्तै, निजामती कर्मचारी अस्पतालको विस्तारको सम्भाव्यता अध्ययनसमेत हुनेछ। यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यही अवसरमा नेपाल र चीनबिच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ।
रसुवागढी केरुङ सीमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । यसबाट रसुवागढी–केरुङ ट्रान्समिसन लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले उच्चस्तरीय भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने विचार व्यक्त गरे ।
अर्थसचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्त्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संसाधन विकास र सीमापार विद्युत् व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताका लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने बताए ।