
बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन हेर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा ८२ कर्मचारीलाई एकैपटक हटाइएको छ। करारमा कार्यरत सबै कर्मचारीलाई आर्थिक वर्ष सकिएसँगै हटाइएको हो। समितिमा कार्यरत स्थायीबाहेक सबै कर्मचारीलाई हटाइएको हो।
यसरी, एकैपटक कर्मचारी हटाउँदा संसद् बैठकसमेत प्रभावित हुने अवस्था रहेको स्रोत बताउँछ। खासगरी विद्युत्, खानेपानी, एसीलगायत काम गर्ने कर्मचारीसमेत नभएपछि संसद् बैठकसमेत प्रभावित सम्भावना रहेको एक कर्मचारीले बताए।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति सहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ। कार्यकर्ता नियुक्तिका लागि पुराना कर्मचारी हटाइएको आरोप लागेको छ। गोदावरी सभा हल पनि सोही समितिका कर्मचारीले हेर्दै आएका छन्।