
हिमाल सुनारी असाध्यै राम्रा भलिबल खेलाडी हुन् । घरेलु प्रतियोगिताको हिमालको उपस्थिति दरिलो छ । ०७८ देखि उनले कुनै पनि घरेलु तथा राष्ट्रिय भलिबल प्रतियोगिता छुटाएका छैनन् । विशेषगरी गण्डकी प्रदेशबाट कुनै पनि टोलीले राष्ट्रियस्तरको भलिबल खेलमा सहभागिता जनाउँदा उनी छुट्याउन नहुने खेलाडीमा पर्छन् । एक राम्रा खेलाडी भए पनि उनले अहिलेसम्म राष्ट्रिय पुरुष टोलीमा स्थान बनाउन सकेका छैनन् ।
यसको एउटै मात्र कारण उनको होचो कदलाई मानिन्छ । तर, हिमाललाई यसमा दु:ख छैन । तर, एक दिन राष्ट्रिय टोलीको जर्सीमा आफूलाई उभ्याउने उनको प्रण छ । ‘राष्ट्रिय टोलीको जर्सी लगाउने मेरो इच्छा छ । अहिले यो सपना पूरा नभए पनि एक न एक दिन हुनेछ,’ हिमालले भने, ‘गण्डकी मेरा लागि सबै कुरा हो । भलिबलले मलाई धेरै दिएको छ मैले त्यसको गुन तिर्नुपर्नेछ ।’ पाल्पा निस्दी– ४ मा जन्मेका हिमालले भलिबलको कर्मथलो गण्डकीलाई बनाएका छन् ।
उनको भलिबलको यात्रा टिपटप हेल्प नेपाल क्लबबाट सुरु भएको हो । त्यसपछि उनी गण्डकीको टिममा जोडिएका हुन् । पाँचौँ एनभिए कपबाट राष्ट्रियस्तरको खेल खेल्न सुरु गरेका हिमालले ०७८ मा दोस्रो टाइगर कप भलिबलबाट गण्डकीमा डेब्यु गरे । काभा क्लब भलिबल च्याम्पियनसिप, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता, एनभिए कप भलिबललगायत सबै प्रतियोगितामा उनी एक आकर्षणका पात्र बने । गण्डकीको प्रतिनिधित्व गर्दै युएई, मलेसिया र हङकङसम्म उनी पुगिसकेका छन् ।
अवार्डका दाबेदार खेलाडी
हिमाल अहिले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा छन् । पिपुल्स च्वाइसमा राष्ट्रिय महिला भलिबलका खेलाडीको वर्चस्व रहेको वेला गण्डकीका खेलाडीले अवार्डमा दाबी गरेका हुन् । अहिलेसम्म पुरुष भलिबल खेलाडीले यो अवार्ड जितेका छैनन् । हिमाल पहिलो पुरुष खेलाडीका रूपमा पिपुल्स च्वाइस अवार्ड जित्ने अभियानमा छन् । उनले उसुका विजय सिँजाली, टेबुलटेनिसकी इभाना थापामगर, फुटबलकी रेखा पौडेल र क्रिकेटकी पूजा महतोलाई चुनौती दिनेछन् । अवार्ड २९ भदौमा पोखरामा हुनेछ ।