मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १९ बिहीबार २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार

ज्यालादारी कर्मचारीले फ्याँकिदिए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको फर्निचर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार २o:२८:oo

सप्तरीको खडक नगरपालिकामा कार्यरत ज्यालादारी कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षका सम्पूर्ण फर्निचर बाहिर फ्याँकिदिएका छन्। 

नगरपालिकाका मेयर जयप्रकाश चौधरीको निर्देशनमा उनीहरूले प्रमुख प्रशासकीय अधिकृत विनय सोनु बस्ने कुर्सी, टेबलसहितका फर्निचर, नेम प्लेटसमेत झिकेर बाहिर फालिदिएका हुन्। 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सोनुलाई काम गर्न नदिने मनसायका साथ मेयर चौधरीले कार्यकक्षभित्रका सबै सामान बाहिर ल्याएरै राख्न लगाएका हुन्। 

प्रमुख प्रशासकीय अधिकृत सोनु आएदेखि नै मेयर स्थानीय तह सञ्चालन ऐन र नियमावलीविपरीत काम गर्न भनेको, तर उनले नमान्दा कार्यकक्ष नै खाली गराएका हुन्। ‘दिन नमिल्ने भुक्तानी गराउन, गर्न नसकिने काम गराउन मेयरज्यूले अत्यधिक दबाब दिनुभयो,’ प्रमुुख प्रशासकीय अधिकृत सोनु भन्छन्, ‘नमान्दा उहाँले कार्यालयमा बस्ने वातावरण नै बिगार्नुभएको छ।’

पालिकाको सभा असारमै सम्पन्न भएको हो। नयाँ आर्थिक वर्ष सुरु भएपछि कामकाजलाई अगाडि बढाउनुपर्ने हो। तर, मेयर चौधरीले प्रमुख प्रशासकीय अधिकृत सोनुबाट काम नगराउने मनसायका साथ कार्यपालिका बैठकसमेत बोलाएका छैनन्। 

ज्यालादारी र करारका कर्मचारीको म्याद थप्ने विषयमा कार्यपालिकाको बैठक बस्न सकेको छैन भने मेयर चौधरीले खाता खोल्न अख्तियारीसमेत दिएका छैनन्। 

मेयर चौधरीले कार्यकक्षभित्रको सामान मात्रै हटाएका छैनन्। कार्यालयमै आउनसमेत डर लाग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत सोनुको भनाइ छ। ‘कार्यालय आउँदा दुर्व्यवहार गर्नु भनेर केही व्यक्तिलाई भनेको सूचना पाएको छु,’ सोनुले भने, ‘यसरी कसरी काम गर्न सकिन्छ ?’

आफू ऐन र नियमभित्र काम गर्न तयार रहेको उनी बताउँछन् । बलजफ्ती तरिकाले गर्न लगाउने काम गर्न नसकिने उनले बताए। 
 

छुटाउनुभयो की ?