
एमालेका केन्द्रीय सदस्य ऐन महरलाई फरार प्रतिवादी बनाएर विद्युतीय कारोबार ऐनअनुसारको मुद्दा दायर गरिएको छ । यसअघि बोलाएको समयमा उपस्थित हुने सर्तमा उनलाई हाजिरी जमानीमा छाडिएको थियो । उनीविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।
महर ११ भदौमा पक्राउ परेकोमा सोही दिन बयान लिएर उनलाई छाडिएको थियो । हाजिरी जमानीमा छाड्दा खोजेको समयमा उपस्थित हुने सर्तमा आफन्त वा कानुन व्यवसायीको जिम्मा लगाएर मात्र छाडिन्छ । तर, मुद्दा दायर गर्ने वेलामा महरलाई अदालतमा उपस्थित गराइएन। महर उपस्थित नभएपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।
फेसबुक लाइभमार्फत आफुलाई चरित्रहिन भनेर आरोप लगाएको भन्दै एक युवतीले उनीविरुद्ध साइबर अपराधको कसुरमा जाहेरी दिएकी थिइन् । सुरुमा प्रहरीले जाहेरी दर्ता नगरेपछि सरकारी वकिलमार्फत जाहेरी दर्ता गरियो । त्यसपछि थुनामा समेत नगरी एकैदिनमा अनुसन्धान टुंगाएको विषयमा प्रश्न उठेको थियो । सत्ताको आडका कारण उनी एकदिन पनि थुनामा बस्नुनपरेको प्रहरी अधिकारी बताउँछन् ।
पीडित महिलाले नेता महरविरुद्ध बलात्कारको समेत जाहेरी दिएकोमा त्यसलाई पनि सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ ।