
सहकारी ठगी प्रकरणमा डेढ वर्षदेखि फरार राप्रपा सांसद गीता बस्नेत अदालतमा हाजिर भएकै दिन १५ लाख धरौटीमा रिहा भएकी छिन् । पूर्वी नवलपरासी (नवलपुर)को कावासोतीस्थित छिपछिपे सहकारीको ठगी प्रकरणमा बुधबार जिल्ला अदालत नवलपुरका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो ।
बस्नेत हाजिर भएकै दिन बयान सकिएपछि थुनछेक आदेश जारी भएको थियो । अदालतको आदेशअनुसार १५ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी तारेखमा रिहा भएकी हुन् । लामो समय फरारपछि अदालतमा उपस्थित भएकी उनी एक दिन पनि थुनामा बस्नुपरेन ।
यसअघि एमाले नेता तथा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नीको मुद्दामा पनि राज्यले यस्तै व्यवहार गरेको थियो । मोरङको उमागौरी सहकारीको रकम हिनामिनामा प्रत्यक्ष जोडिएकी उनकी पत्नी अञ्जला कोइरालालाई पनि प्रहरीले फरार बनाएर मुद्दा दायर गरेको थियो । जबकि उनी घरमै थिइन् । उनी एकैपटक जिल्ला अदालतमा उपस्थित भइन् । त्यही दिन उनको पेसी तोकियो, त्यही दिन थुनछेक बहस भयो र त्यही दिन १० लाख धरौटीमा रिहा भइन् ।
राप्रपा सांसद गीतालाई पनि बयान र थुनछेक बहस सकिएपछि बुधबारै धरौटीमा रिहा गरिएको जिल्ला अदालत नवलपुरका स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । ‘उहाँ आजै अदालतमा उपस्थित हुनुभएको थियो । बयान र थुनछेक सकिएपछि अदालतको आदेशअनुसार १५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाएर तारेखमा रिहा हुनुभएको छ,’ स्रेस्तेदार पौडेलले भने ।
प्रहरीले अनुसन्धान थालेलगत्तै उनी फरार थिइन् । उनी राप्रपाकी समानुपातिक सांसद हुन् । यसअघि एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि यसैगरी हाजिर भएकै दिन धरौटीमा छुटेकी थिइन् ।
बस्नेतविरुद्ध २० जेठ ०८१ मा मुद्दा दायर भएको थियो । तीन हजार १०९ जना बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपैयाँ हिनामिना गरेको अभियोगमा ३५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
सहकारीको पैसा सांसद बस्नेत सञ्चालक रहेको बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरिएको थियो । उनका ज्वाइँ रहेका नगेन्द्रबहादुर रिसाल सो सहकारी र रिसोर्ट दुवैका सञ्चालक हुन् । यसरी सहकारीको पैसा धितोसमेत नराखी रिसोर्टमा लगानी गरिएको भन्दै बस्नेतलाई पनि प्रतिवादी बनाइएको थियो ।
बस्नेतकै मिलेमतोमा एकपटक सहकारीको ९५ लाख र अर्काेपटक ५४ लाख रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । साथै, अन्य समयमा पनि सहकारीको रकम हिनामिनामा उनको भूमिका रहेको भनेर सहकारी सञ्चालकले बयान दिएका थिए ।
सहकारीका अध्यक्ष तथा कार्यालय प्रमुख योगेन्द्र पाण्डेको बयानमा भनिएको छ, ‘...कृष्णसार रिसोर्ट प्रालिका सञ्चालकहरूमा गीता बस्नेत, निजका ज्वाइँ तथा यस सहकारीका सचिव नगेन्द्रबहादुर रिमाल र सञ्जीवकुमार महतो र म बर्दिया जिल्लाको कृष्णसार रिसोर्ट प्रालिको सञ्चालक थियौँ । तर, उक्त रिसोर्टमा लगानी गर्नेलगायत विभिन्न क्षेत्रमा सहकारीको रकम प्रयोग गर्ने कार्य गीता बस्नेत र नगेन्द्रबहादुर रिमालको नै सल्लाहमा हुने थियो ।’
छिपछिपे मात्र नभई चितवनको सनराइज सहकारी ठगीमा पनि बस्नेतको योजना र भूमिका देखिएको छ । पाण्डेको बयानमा थप भनिएको छ, ‘चितवनको सनराइज सहकारीको करोडौँ रकम नगेन्द्रबहादुर रिमाल र गीता बस्नेतको नै योजनामा लगेको पुष्ट्याइँ गर्ने दाखिला भौचरसमेत छानबिनकर्तालाई उपलब्ध गराएको छु ।’ रिमाल आफैँले पनि सहकारीको पैसा रिसोर्टमा लगेर लगानी गर्नु गल्ती भएको बयान दिएका छन् ।
सांसद बस्नेतविरुद्ध चितवनमा पनि अर्काे मुद्दा दायर छ । आफूविरुद्ध मुद्दा दायर भएपछि संसद्बाट उनी बिरामी बिदा लिएर बसेकी छिन् । प्रहरीले पनि डेढ वर्षसम्म उनलाई पक्राउ गर्न चासो दिएको थिएन ।
छिपछिपेमा पनि जिबीकै शैलीमा गरिएको थियो ठगी
सहकारी ठगीका मुद्दामा चयनमुखी अनुसन्धान र अभियोजन गर्दै आएको आरोप खेपिरहेको प्रहरीले छिपछिपे सहकारी ठगी प्रकरणमा पनि उस्तै भूमिका देखाएको छ । बचतकर्ताको पैसा विभिन्न निजी कम्पनीमा लगानी गर्दा छिपछिपे सहकारी डुबेको थियो । तर, प्रहरीले यसमा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गरेको छैन । जबकि जिबी राईका सहकारीबाट यसैगरी रकम दुरुपयोग हुँदा प्रहरीले सहकारीका सञ्चालक मात्र होइन, पैसा गएका कम्पनीका तत्कालीन सञ्चालकलाई समेत मुख्य प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । छिपछिपे सहकारीको ठगीमा प्रहरीले सुरुमा संगठित अपराधतर्फ पनि अनुसन्धान गरेको थियो । तर, संगठित अपराध मुद्दा लगाउँदा पीडितहरूले बचत फिर्ता पाउन कठिन हुन सक्ने भन्दै सरकारी वकिल कार्यालयले सहकारी ठगी मुद्दा मात्र चलाएको थियो ।