मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
तिवारी यादव वीरगन्ज
२o८२ भदौ २० शुक्रबार o६:o४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खानेपानीमन्त्री यादवलाई प्रश्न गर्दा पक्राउ परेकी किरण छैटौँ दिन धरौटीमा रिहा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार o६:o४:oo

खानेपानीमन्त्री प्रदीप यादवको पदीय जिम्मेवारीप्रति प्रश्न उठाउँदा पक्राउ परेकी किरण साह छैटौँ दिन बिहीबार रिहा भएकी छिन् । पर्सा जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको बिहीबारको इजलासले उनलाई पाँच हजार धरौटीमा छाड्न आदेश दिएको हो । आदेशसँगै उनले पाँच हजार धरौटी बुझाएपछि रिहा भएको अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले बताए ।

साहको तर्फबाट अधिवक्ताहरू अजय स्वर्णकार, राकेश मल्लिक र विनोदकुमार मल्लिकले बहस गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानका आधारमा बिहीबार मात्र सरकारी वकिलको कार्यालयले किरणविरुद्ध विद्युतीय कारोबार कसुरमा मुद्दा चलाएको थियो ।

प्रहरी हिरासतमा रहेकी साहसँगै रौतहटका पत्रकार अभिमन्नु पटेल (अभिमनु राउत) माथि पनि सरकारी वकिलको कार्यालयले विद्युुतीय कारोबारसम्बन्धी कसुरमा अभियोग–पत्र दर्ता गरेको थियो । राउतले सामाजिक सञ्जालमार्फत अडियो सार्वजनिक गरेका थिए । उनी फरार छन् । मन्त्री यादवका स्वकीयसचिव हरिन्द्र साहको जाहेरीमा प्रहरीले कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुर स्थायी घर भई हाल वीरगन्ज १३ मुर्ली बस्दै आएकी साहलाई गत शनिबार नियन्त्रणमा लिएको थियो ।

प्रहरीले किरणविरुद्ध विद्युतीय कारोबार कसुर, संघीय सांसदलाई धम्की दिन नहुने कसुर र झुटा कुराको अफवाह फैलाएको कसुरमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले भने विद्युतीय कारोबारसम्बन्धी कसुुरमा मात्र मुद्दा चलाएको हो ।  

सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्ताले मिसिलमा भएको कागजातबाट विद्युतीय कारोबार वारदात मात्र साबित हुन देखिएकाले सोही मात्र दर्ता गरिएको बताए । प्रहरीले अनुसन्धान गरी ल्याएको मिसिलमा देखिएको प्रमाणअनुसार एउटा मात्र मुद्दा दर्ता भएको उनले बताए ।

न्यायपालिकासहित मलाई समर्थन गर्ने सबैलाई धन्यवाद : किरण
अदालतको आदेशपछि रिहा हुँदै किरण साहले न्यायपालिकालाई धन्यवाद दिइन् । उनले हिरासतमा रहेका वेला बाहिरबाट सहयोग गर्ने, साथ र समर्थन गर्ने सबैलाई विशेष धन्यवाद भनिन् ।

उनले अदालतबाट कानुनी प्रक्रिया पूरा गरेर आफू छुटेकाले खुसी रहेको बताइन् । वीरगन्जमा हैजा र झाडापखालाको समस्याबारे जिम्मेवार व्यक्तिलाई आक्रोशित भएर आफ्नो कुरा राखेको उनले सुनाइन् । 

फोन सम्पर्कमा मन्त्री प्रदीप यादवले गैरजिम्मेवार कुरा गरेपछि जनतालाई जानकारी दिन वार्तालापको कुरा पत्रकार अभिमन्यु पटेललाई पठाएको बताइन् । तर, मन्त्रीसँग भएको अडियो संवाद सार्वजनिक गर्नुको उद्देश्य प्रतिष्ठामा आँच पुर्‍याउने र चरित्र हत्या गर्न नरहेको उनले दोहोर्‍याइन् ।

उनले अदालतसँगको बयानमा पनि हैजाका विषयमा कहीँकतै सुनुवाइ वा त्यसको नियन्त्रणको प्रयास नभएपछि खानेपानीमन्त्री प्रदीप यादवसमेतलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको र मन्त्रीले गैरजिम्मेवार कुरा गरेपछि अडियो रेकर्ड बाहिर ल्याएको बताएकी थिइन् । ‘मैले हैजा रोगको झुटा अफवाह फैलाई जनमानसमा आक्रोश पैदा गराई हुलदंगासमेत गराउने उद्देश्यले केही गरेकी छैन । मन्त्री यादवको मानमर्यादा, प्रतिष्ठामा आँच पुर्‍याई चरित्र हत्या गर्ने, मानमर्दन गर्नेजस्ता काम कुरा गरेको छैन, मनसाय, उद्देश्य पनि छैन,’ उनले भनेकी छिन्, ‘अभिभावक जनप्रतिनिधिजस्ता मन्त्रीसँग वार्तालाप हुँदा यतिको जिम्मेवारी पाएको मन्त्रीले गैरजिम्मेवार कुरा गरेपछि आवाजमा निजसँगको वार्तालापमा क्षणिक आफ्नो र जनताको आक्रोश पोखेको हुँ ।’ 

आफैँले उजुरी दिएर अनाहकमा युवतीलाई थुनाएका खानेपानीमन्त्री यादव भन्छन्– प्रहरीलाई नरम भइदिन भनेको हुँ

पदीय जिम्मेवारीमाथि प्रश्न गर्दा खानेपानीमन्त्री प्रदीप यादवले पर्साकी किरण साहलाई ६ दिन प्रहरी हिरासतमा पुर्‍याए । यादवका स्वकीय सचिव हरिन्द्र साहको जाहेरीका आधारमा पक्राउ परेकी साह बिहीबार मात्र पर्सा जिल्ला अदालतको आदेशमा पाँच हजार रुपैयाँ धरौटीमा छुटिन् । तर, धरौटीमा छुट्नुअघि मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा गलत तथ्यसहित लेखे, ‘फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नुहोला । पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूपमा उनीप्रति कुनै पूर्वाग्रह छैन ।’ सँगै उनले युवतीप्रति नरम भइदिन सचिवालयमार्पmत प्रहरीलाई आग्रह गरेको दाबी पनि गरे । 

त्यति मात्र होइन, उनले समस्या प्रश्न गर्नुमा नभई हिंसाको भावना व्यक्त गर्दा यो स्थिति पैदा भएको दाबी गरेका छन् । जबकि झाडापखाला र हैजाका कारण परिवारका सदस्य नै अस्पतालमा भर्ना भएका वेला किरणले सुरुमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र पछि खानेपानीमन्त्री यादवलाई फोन गरेर आक्रोश पोखेकी थिइन् । मन्त्री यादवले किरणका परिवारका सदस्य वीरगन्जको कुनै अस्पतालमा भर्ना नभएको गलत तर्क पनि गरेका छन् । झाडापखाला लागेपछि किरणका बुबा तुलसी साह र आमा सावित्रीदेवी १० भदौमा एडभान्स अस्पताल भर्ना भएका थिए । त्यसपछि उनीहरू शान्ति पोलिक्लिनिकमा उपचारपछि गत आइतबार मात्र डिस्चार्ज भए । बहिनी सन्झादेवी साहकी दुई वर्षीया छोरी कृतिका साहमा भने हैजा पजिटिभ देखिएको थियो, नेसनल मेडिकल कलेजको आइसियूमा राखेर उपचार भएको थियो । 

छुटाउनुभयो की ?