मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
बिहीबार बसेको एमाले सचिवालय बैठक । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o६:३४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आजबाट एमालेको विधान महाधिवेशन : ईश्वर पोखरेलको फरक मतलाई रोक, कर्ण थापालाई अनुमति

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३४:oo

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोक्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राखेका छन् । 

केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष केपी ओलीले अस्वाभाविक वातावरणमा केन्द्रीय कमिटी बैठक समापन गरेर अनिश्चितकालका लागि स्थगित गराएकाले सचिवालयमा फरक मत राख्नुपरेको कारण खुलाएका छन् । ६ साउनमा सकिएको केन्द्रीय कमिटी बैठकमा उनले जस्तै उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउने निर्णयविरुद्ध फरक मत राखेका थिए । 

ओली र पाण्डेको भनाभन चलेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले फरक मत राख्न पाएका थिएनन् । त्यतिवेलाको अस्वाभाविक परिवेश स्मरण गर्दै उनले भण्डारीको सदस्यतामा रोक लगाउने निर्णयले पार्टीले क्षति व्यहोर्न सक्ने भन्दै चेतावनी दिएका छन् । 

शुक्रबारबाट सुरु हुने विधान महाधिवेशनको सँघारमा पोखरेलले राखेको फरक मतलाई उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीसहित सचिव गोकर्ण विष्टले पनि समर्थन गरेका छन् । तर, सचिवालय बैठकले पोखरेलले दस्ताबेजमा नभएर केन्द्रीय कमिटीको निर्णयको सवालमा मात्र फरक मत राखेकाले विधान महाधिवेशनमा फरक मतका रूपमा प्रस्तुत गर्न नदिने निर्णय गरेको छ । 

‘कमरेड विद्या भण्डारी राष्ट्रपति हुनुभन्दा अगाडि एमालेको केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो र पार्टी निर्णयको पालना गरेर नै उहाँ नेपालको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो । त्यो जिम्मेवारी लिइरहँदा ०७२ साल कात्तिक १२ गते उहाँले जारी गर्नुभएको प्रेस नोटले यो कुरा स्पष्ट पार्दछ,’ पोखरेलको फरक मतमा भनिएको छ, ‘उक्त पदमा रहँदा उहाँले पदको गरिमालाई उच्च बनाउनुभएको र पार्टीको प्रतिष्ठालाई समेत उच्च राखेको बारेमा कुनै विवाद छैन । राष्ट्रपतिको पदावधि पूरा गरिसकेपछि एउटा जिम्मेवार नेपाली नागरिकका हैसियतले नेकपा एमालेका अध्यक्षलगायत पार्टीका अन्य नेताहरू, विभिन्न पार्टीका नेता, विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ, आमनागरिकसित समेत प्रसंगहरूले उहाँ पार्टी परिवारमा औपचारिक रूपमै सम्बन्धित बनिसक्नुभएको तथ्य स्वत: पुष्टि भइसकेको कुरा हो ।’ 

केन्द्रीय कमिटीले पार्टी विधान, संविधान र कानुनविपरीत निर्णय गरेको विषय असहमतिमा पोखरेलले उल्लेख गरेका छन् । ‘यस्तो वास्तविक पृष्ठभूमिलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीको नवौँ बैठकमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यसमेत नरहने गरी पार्टी राजनीतिमा समेत संलग्न हुन नपाउने गरी गरिएको निर्णय र त्यसपछि जारी गरिएको अन्तरपार्टी निर्देशन १२ मा उल्लेख गरिएको सो विषय नेपालको संविधान, कानुनी प्रबन्ध र हाम्रो पार्टीको विधानप्रतिकूल रहेकाले त्यस निर्णयसित सहमत हुन नसकी विधान महाधिवेशनअघि आयोजना गरिएको यो सचिवालय बैठकसमक्ष मेरो मत प्रस्तुत गर्दै छु,’ उनले भनेका छन् । 

फरक मतमा पोखरेलले अस्वाभाविक वातावरणमा निर्णय सुनाइएको आरोप लगाउँदै सच्याउन माग राखेका छन् । ‘अस्वाभाविक वातावरणमा नवौँ बैठकमा अन्तिम निर्णय सुनाउँदै बैठक समापन गरिएको, त्यसपछि राखिएको केन्द्रीय कमिटीको बैठक सूचनामार्फत अनिश्चितकालका लागि स्थगित गरिएका कारण अहिले सचिवालयको बैठकमा औपचारिक रूपमा मेरो विचार प्रस्तुत गर्न चाहन्छु । पार्टी र आन्दोलनमा पर्ने दूरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्थाबमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्वनिर्णयलाई सच्याइयोस् भनी अनुरोध गर्दछु,’ पोखरेलले भनेका छन् । 

पोखरेलले फरक मत राखेपछि उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले समर्थन जनाएका थिए । त्यस्तै, सचिव विष्टले पनि फरक मतमाथि छलफल गरेर ठोस निष्कर्षमा पुग्नुपर्ने मत राखेर पोखरेलको मतलाई समर्थन जनाएका थिए । पोखरेलले भण्डारीको सवालमा गरिएको निर्णयले पार्टीभित्र स्वेच्छाचारिता बढाएको आरोप लगाएका छन् । 

‘केन्द्रीय कमिटी बैठकमा छलफलको कार्यसूचीमा समेत नराखिएको पूर्वउपाध्यक्ष राष्ट्रपति विद्या भण्डारीको ०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकृत गरिएको पार्टी सदस्यता खारेज गर्ने निर्णय सुनाइएको थियो । मेरो विचारमा त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढवा दिने काम गर्नेछ । यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तको रूपमा पनि उल्लेख हुन सक्छ । लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानुनअनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन मिल्दैन । हाम्रो पार्टीको विधान र हाम्रो पार्टीले लामै समयदेखि अवलम्बन गर्दै आएको पार्टी जीवनको लोकतान्त्रीकरणको अभ्यासले पनि यस्तो कुरालाई स्वीकार गर्दैन,’ पोखरेलले भनेका छन् । 

पोखरेलको फरक मतमाथि रोक, थापालाई अनुमति 
शुक्रबारबाट सुरु हुने दोस्रो विधान महाधिवेशनमा एमाले केन्द्रीय सचिवालयले पोखरेलको फरक मत प्रस्तुत हुन नदिने निर्णय गरेको छ । ‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणबारे केन्द्रीय कमिटीले नै निर्णय गरिसकेकाले सचिवालयमा थप छलफल गर्नुपर्ने पक्ष–विपक्ष हुनुपर्ने जरुरी भएन । त्यो विधान महाधिवेशनको एजेन्डा पनि होइन । कुनै वेला थप छलफल गर्नुपर्ने भए केन्द्रीय कमिटी वा सचिवालयमै छलफल हुनेछ,’ बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

ज्ञवालीले स्थायी समिति सदस्य कर्ण थापाले भने फरक दस्ताबेज प्रस्तुत गरेकाले विधान महाधिवेशनमा प्रस्तुत गर्न दिइने निर्णय भएको जानकारी गराए । ‘कर्ण थापाले फरक दस्ताबेजमा के ल्याउनुभएको छ, त्यो फरक कुरा हो । हामी चाहन्छौँ, सम्मानित पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व, जुन योगदान छ, त्यसबारे महाधिवेशनमा पक्ष–विपक्षको विषय नबनोस् भनेर हामी आग्रह गर्दछौँ,’ ज्ञवालीले भने । 

थापाले बिहीबार दिउँसो पार्टी कार्यालय पुगेर फरक मतसहितको दस्ताबेज दर्ता गराएका थिए । उनले कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेरहद तथा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयप्रति असहमति राखेको जानकारी दिए । 

‘पार्टी जीवनको लोकतान्त्रीकरणको मान्यताअनुसार दुई कार्यकाल पदाधिकारी भइसकेपछि तेस्रो कार्यकाल उम्मेदवार हुन नपाउने र ७० वर्षको उमेरहद पूरा भएपछि कुनै पनि कमिटीमा सक्रिय भएर काम गर्न नपाउने विधानको जुन व्यवस्था थियो, त्यसलाई कायमै राख्नुपर्छ भनेर फरक मत राखेको थिएँ । त्यसैगरी, पूर्वराष्ट्रपति विद्या भण्डारीको विधानबमोजिम नवीकरण भइसकेको सदस्यता खारेज गर्ने काम भयो त्यो निर्णय गलत र विधानविपरीत छ र नेपालको कानुन र संविधानको पनि बर्खिलापमा छ । दुई विषयमा फरक मत दर्ज गरेको थिएँ । तिनै विषयसहित मैले फरक मत राखेको छु,’ थापाले भने । 

थापाले प्रथम विधान महाधिवेशनको विधान, मूल्य–मान्यता, प्रस्ताव र निर्णयअनुसार पार्टी सञ्चालन नभएको विषय उठान गरेर छलफलका लागि फरक दस्ताबेज बनाएको पनि जानकारी दिए ।

१२ मिनेटभित्र उद्घाटन सक्ने तयारी 
एमालेले १२ मिनेटभित्र उद्घाटनको मुख्य कार्यक्रम सम्पन्न गर्ने गरी विधान महाधिवेशनको उद्घाटन कार्यक्रमको तयारी गरेको छ । १२ मिनेटमा मंगल धुन, सहिदको सम्झनामा शोेकधुन, राष्ट्रिय धुन र अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत बजाएर उद्घाटन कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए । त्यसलगत्तै अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

महाधिवेशन हलभित्र छिर्ने चारवटा प्रवेशद्वार निर्माण गरिएको छ । पहिलो द्वारबाट अध्यक्ष केपी ओली प्रवेश गर्नेछन् । पदाधिकारी र मुख्यमन्त्री, मन्त्रीहरू दोस्रो र तेस्रोबाट सबै प्रतिनिधि प्रवेश गर्नेछन् । प्रतिनिधिहरूको कार्ड पूर्ण रूपमा डिजिटाइजसहित तयार गरिएको छ ।

महाधिवेशनस्थलमा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । हलभित्र २२ सय स्क्वाटर फिटको डिजिटल बोर्ड राखिएको छ भने सञ्चारकर्मीहरूलाई सूचना संकलनका लागि अलग्गै मिडिया सेन्टरको पनि व्यवस्था गरिएको छ । मञ्चमा १८ पदाधिकारी मात्र रहनेछन् । सबैभन्दा अगाडि ओली बस्ने गरी व्यवस्थापन मिलाइएको छ । शुक्रबार उद्घाटन सकिएपछि २१ गते प्रतिवेदनमाथि १० वटा समूहमा प्रतिनिधिहरूलाई विभाजित गरेर छलफल गराउने गरी तयारी गरिएको छ । 
 

छुटाउनुभयो की ?