घोषणापत्रविनै देउवालाई ओलीको ‘लाइभ डिबेट’ प्रस्ताव

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी एजेन्डाकेन्द्रित ‘लाइभ डिबेट’का लागि आह्वान गरे । चुनावी एजेन्डामा पश्चिमा शैलीको ‘लाइभ डिबेट’सम्बन्धी ओलीले सामाजिक सञ्जालमार्फत गरेको आह्वानमाथि मुख्य प्रतिस्पर्धी कांग्रेसले मात्रै होइन, सञ्जाल प्रयोगकर्ताले समेत सकारात्मक प्रतिक्रिया जनाए । तर, उनै ओलीले नेतृत्व गरिरहेको दल एमालेले ‘चुनावी डिबेट’का लागि निर्वाचन घोषणापत्र भने अझै सार्वजनिक गरिसकेको छैन । 

एमालेले २६ साउनमा अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । समितिको सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । एमालेले तिहार र छठ पर्व सकिएपछि १५ कात्तिकभित्र सार्वजनिक गर्ने गरी घोषणापत्र मस्यौदालाई अन्तिम रूप दिने प्रयास गरिरहेको छ । अहिलेकै कार्यतालिकाअनुसार घोषणापत्र सार्वजनिक भए एमालेका लागि १५ दिन मात्रै चुनावी एजेन्डा जनतामा लैजाने समयसीमा हुनेछ । 

पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले धेरैभन्दा धेरै सुझाव आएको र त्यसलाई व्यवस्थित अध्ययनसहित संलग्न गराउनुपर्ने भएकाले केही समय लिनैपर्ने बाध्यता देखिएको बताए । प्राविधिक तयारीको काम गर्नैपर्ने भएकाले चुनावकेन्द्रित जनतासँग जोडिएका एजेन्डालाई पार्टीले उपेक्षा नगरेको उनको भनाइ छ । अरू पार्टीले पनि घोषणापत्र सार्वजनिक नगरेपछि एमाले त्यसका लागि हतारिएको छैन । ‘धेरैभन्दा धेरै सुझाव प्राप्त भएकाले त्यसलाई व्यवस्थित अध्ययनसहित संलग्न गराउनुपर्ने देखियो, अरूले पनि सार्वजनिक गरेका छैनन्,’ अधिकारीले भने, ‘तर, हामी घोषणापत्र जारी गर्नेबित्तिकै त्यही दिन नै मुख्य सहर र प्रायः सबै जिल्ला सदरमुकाममा पु¥याएर जनतामा लैजाने प्रबन्ध गर्दै छौँ, त्यसकारण चुनावकेन्द्रित एजेन्डाप्रति हामीले उपेक्षा गरेका छैनौँ ।’

घोषणापत्र सार्वजनिक गर्नुअघि अध्यक्ष ओलीले जनस्तरबाट प्रत्यक्ष सुझाव संकलन गर्ने गरी टेलिफोन संवादको कार्यतालिका सार्वजनिक गरेका छन् । शुक्रबार गरिने टेलिफोन संवादका लागि एक लाख १३ हजारले नाम र सम्पर्क नम्बर टिपाएको भन्दै ओलीले प्रत्यक्ष संवादमा जोडिनका लागि सम्पर्कमा आउन सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । चुनावी घोषणापत्रलाई फाइनल टच दिन ओली २७ असोजमा ललितपुरस्थित लाँकुरी भञ्ज्याङमा एक रात बिताएर काठमाडौं फर्किएका थिए । उनीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीलगायत विज्ञ पनि लाँकुरी भञ्ज्याङ पुगेका थिए । 

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार समृद्धि र सुशासनमा केन्द्रित रहेर पूरा गर्न सकिने निश्चित कार्यक्रम घोषणापत्रमा समेटिएका छन् । ‘घोषणापत्र मूलतः राजनीतिक स्थायित्व, राष्ट्रियताको संरक्षण र संवद्र्धन, सुशासन र समृद्धिमा केन्द्रित छ । पाँच वर्षभित्र गर्ने केही निश्चित नयाँ कार्यक्रम अगाडि सार्दै छौँ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘खासगरी सुशासन र जीवनस्तर सुधार्ने किटानीसहितका प्रतिबद्धता सारिने जनताका मन छुने कार्यक्रमले मतदाता आफैँले पाँच वर्षपछि आँकडामै मापन गर्न सक्नुहुनेछ ।’ 

सुझावित समाचार