समानुपातिक उम्मेदवारीविरुद्ध २७ उजुरी

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

बन्दसूचीबाट आफ्नो नाम हटाउन सात उम्मेदवारको निवेदन

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूचीमा परेका उम्मेदवारीविरुद्ध २७ उजुरी परेको छ । समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ हजारभन्दा बढी उम्मेदवारको नाम रहेको बन्दसूचीमा प्रतिनिधिसभातर्फ १२ र प्रदेश सभामा १५ उजुरी परेको हो । प्रतिनिधिसभातर्फ एक सय १० र प्रदेश सभातर्फ दुई सय २० समानुपातिक सिटका लागि ४८ दलले बन्दसूची बुझाएका छन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत २२ असोजमा प्रकाशन गरेको बन्दसूचीमा उम्मेदवारको योग्यता सम्बन्धमा दाबीविरोध गर्न निवेदन दिने समय शनिबारसम्म थियो । आयोगमा आएका उजुरीमाथि आइतबारदेखि ५ कात्तिकसम्म छानबिन गर्ने र निर्णय गरेर ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गरिने समानुपातिक मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता गुरुराज वाग्लेले जानकारी दिए । ९ कात्तिकमा बन्दसूचीमा रहेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । 

कस्ता छन् उजुरी ? 
समानुपातिक मुख्य निर्वाचन अधिकृत कार्यालयको तथ्यांकअनुसार उम्मेदवार तथा अन्यबाट अनौठा उजुरी आएका छन् । केही उम्मेदवारले आफू बन्दसूचीको क्रम संख्यामा तल परेको भन्दै उजुरी दिएका छन् । जब कि निर्वाचन आयोगले यसपालि समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरेर बन्दसूचीमा क्रमसंख्या मिलाउने अधिकार दलहरूलाई दिएको छ ।

यसअघि कुनै दलले जति नम्बरमा योग्यता नपुगेर हट्ने उम्मेदवार छ, त्यही क्रमसंख्यामा नयाँ उम्मेदवारको नाम बन्दसूचीमा राख्नुपर्ने बाध्यकारी नियम थियो । अब दलले योग्यता नपुगेर हटेको ठाउँमा सोभन्दा तल रहेको व्यक्तिलाई माथि ल्याउने गरी अधिकार दिएको छ । जसअन्तर्गत हटेको स्थानभन्दा तल बन्दसूचीमा राखिएका उम्मेदवारले हटेकै स्थानमा आफ्नो हुनुपर्ने भनेर सच्याउन माग गर्दै उजुरी दिएका छन् । यसमा आयोगले केही गर्न नसक्ने समानुपातिक निर्वाचन कार्यालयका प्रवक्ता वाग्ले बताउँछन् । ‘बन्दसूचीमा कसलाई कहाँनेर राख्ने दलहरूको अधिकार क्षेत्रको कुरा हो । यसमा आयोगले कुनै कारबाही गर्न सक्दैन,’ उनले भने । त्यसैगरी मञ्जुरी नै नभएको, दुई दलबाट एकजना उम्मेदवार परेको, जागिरबाट राजीनामा नदिएकाले बन्दसूचीबाट नाम हटाउनुपर्नेजस्ता उजुरी परेका छन् । 

बन्दसूचीमा तल परेकोदेखि मञ्जुरी नभएकोसम्मका उजुरी 
प्रदेश सभामा राष्ट्रिय नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जिलाफसिंह तामाङ, निर्मला योञ्जन, कुवेर खड्का, पवित्रा जोशी, रामराज पन्त, सुदर्शन मैनाली र गीता भट्टले आफ्नो मञ्जुरीविना नै पार्टीले उम्मेदवार बनाएको भन्दै बन्दसूचीबाट हटाउन निवेदन दिएका छन् । सोही पार्टीकै योगलाल श्रेष्ठविरुद्ध भने जरिवाना नतिरेको भन्दै बन्दसूचीबाट हटाउन घनलाल श्रेष्ठले उजुरी हालेका छन् । 

जनमत पार्टीकी उम्मेदवार अनिताकुमारी साहले आफ्नो उम्मेदवारीमा क्लस्टर नमिलेकाले सच्याउन निवेदन दिएकी छिन् । त्यस्तै, जसपाकी उम्मेदवार सहना रहमानको ज्येष्ठता नमिलेको, बन्दसूचीको क्रमसंख्यामा आफू माथि हुनुपर्ने भन्दै मञ्जु शर्मा अन्सारीले निवेदन दिएकी छिन् । 

कांग्रेसका उम्मेदवार लखीकुमारी गणेशविरुद्ध क्लस्टर नमिलेको भन्दै लक्ष्मीकुमारी ठाकुरले सच्याइपाऊँ भनेर उजुरी दिएकी छिन् । त्यस्तै, एमाले उम्मेदवार प्रेमनाथ अधिकारीविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै नेपाली जनता दलका प्रतिनिधिले उजुरी दिएका छन् । अधिकारी राष्ट्रिय नाचघर सञ्चालक भएको र उनले पदबाट राजीनामा नदिएकाले उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

प्रतिनिधिसभातर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव डुम्रेविरुद्व उजुरी परेको छ । ‘पत्रकारिता गर्नेले राजनीति गर्नुहुँदैन’ भनेर संविधानमै रहेको दाबी गर्दै नरेश डुम्रेले उम्मेदवारी खारेजीको माग गरेर निवेदन दिएका हुन् । त्यस्तै, कांग्रेस उम्मेदवार गोविन्दहरि पुडासैनीले बन्दसूचीको क्रमसंख्या नमिलेको तथा आफ्नो नाम तल परेको भन्दै सच्याउन माग गरेका छन् । कांग्रेसकै उम्मेदवार उमावती चौधरीले बन्दसूचीमा आफ्नो नाम नसमेटिएको भन्दै निवेदन दिएकी छिन् । उनले ‘पत्रिकामा प्रकाशित बन्दसूचीमा नाम आएको तर आयोगले सार्वजनिक गरेको बन्दसूचीमा मेरो नाम किन आएन ?’ भन्दै नाम उल्लेख गर्न माग गरेकी छिन् । 

लोसपाकी उम्मेदवार कल्पना पाण्डेको नाम नागरिक उन्मुक्ति पार्टीको सूचीमा पनि रहेपछि उनले दुवै दलको सूचीबाट आफ्नो नाम हटाइपाऊँ भनेर निवेदन दिएकी छिन् । त्यस्तै, सुकमाया तामाङको नाम पनि लोसपा र नागरिक उन्मुक्ति पार्टी दुवैको बन्दसूचीमा रहेको पाइएको छ । यसविरुद्ध निमा दोर्ज तामाङले दुवै दलबाट नाम रहेकाले हटाउन निवेदन दिएका छन् । 

राजु गुरुङ, रेशम चौधरीलगायत पाँचको उम्मेदवारी खारेज 
प्रत्यक्षतर्फ उजुरीमाथि जाँचबुझ भई अन्तिम सूची सार्वजनिक भएको छ । कुल पाँच हजार ६ सय ३६ उम्मेदवारमध्ये केही खारेज भएका छन् । दाबीविरोध उजुरीको छानबिनपछि रुपन्देही २ बाट उठेका डा. कमल भुसाल (निकोलस), राजु गुरुङ, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया २ मा उठेका रेशम चौधरी र कैलाली ५ मा मनोनयन दर्ता गराएका लक्ष्मण थारूको उम्मेदवारी खारेज भएको छ । रुकुम पश्चिम (ख)का कांग्रेस उम्मेदवार प्रेमप्रकाश ओलीको पनि उम्मेदवारी खारेज भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन ऐन, कानुन, आचारसंहिताबमोजिम नगर्ने उम्मेदवारको दर्ता खारेजी गरेको बताए । उम्मेदवारी दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था रहेको भन्दै झुटो घोषणा गर्नेको उम्मेदवारी खारेज हुने उनको भनाइ छ । स्वघोषणामा संविधानप्रति पूर्ण निष्ठावान् रहेको, २५ वर्ष उमेर पूरा भएको, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, संघीय कानुनअनुसार अयोग्य नभएको, सरकारी तथा अनुदान प्राप्त संस्था, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको हुनुपर्ने उल्लेख छ ।

सुझावित समाचार