प्रचण्डसहित ६ नेता र आठ संस्थालाई आयोगले सोध्यो स्पष्टीकरण

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र आठ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरी तथा प्राप्त जानकारीका आधार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको हाे।

यस्तै, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टी अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई आयोगबाट स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए। 

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमतिबमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बिमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले बताए। 

सुझावित समाचार