नागरिकता विधेयकमाथि छलफल जारी

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल राष्ट्रिय सभामा जारी रहने भएको छ । बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसदहरूको बोल्न क्रम नसकिएकाले छलफल जारी रहेको हो । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट पारित भइसकेको नागरिकता विधेयक राष्ट्रिय सभामा पुगेको छ । 

बिहीबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराएका सांसदको बोल्ने क्रम नसकिएकाले अर्को बैठकमा पनि छलफल जारी रहने भएको हो । अर्काे बैठक शुक्रबार बोलाइएको छ । विधेयकमाथिको छलफलमा सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए । अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अंगीकृत नागरिकताको विषय किन ल्याइएन भन्ने प्रश्न गर्दै उनले अहिलेको विधेयक संविधानसम्मत रहेको दाबी गरे । 

सांसद देवेन्द्र दाहालले सहमतिका आधारमा नागरिकता विधेयक पारित गरिनुपर्ने धारणा राखे । सांसद राधादेवी भट्टले नागरिकताको विषयमा राष्ट्रपतिले गरेको पुनर्विचारसम्बन्धी धारणाको विरोध गर्नुको कुनै औचित्य नभएको बताइन् । सांसद विमला राई पौडेलले विधायन समितिमा प्रक्रिया पुर्याउनका लागि मात्रै विधेयकका सन्दर्भमा छलफल गराइएको आशंका व्यक्त गरिन् ।

सांसद इन्दु कडरियाले नागरिकताको जस्तो संवेदनशील विषयलाई हल्का ढंगले लिन नहुने धारणा राखिन् । नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सांसद विमला घिमिरेले राष्ट्रिय हित, चासो र चिन्तालाई सम्बोधन गर्दै नागरिकता विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिइन् । 

सुझावित समाचार