बलात्कारका आरोपीलाई छाड्ने उच्चको आदेश, पीडितद्वारा अदालतमै आत्महत्याको धम्की

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दाका आरोपीलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि पीडितले अदालतमै आत्महत्याको धम्की दिएकी छिन् । आफूमाथि अन्याय भएको भन्दै बिहीबार पाटन उच्च अदालतमा पीडितले यस्तो धम्की दिएकी हुन् ।

जिल्ला अदालतको आदेशले थुनामा रहेका दिवाकर रिजाललाई बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरीश्वर भण्डारीको इजलासले धरौटीमा छाड्ने आदेश दिएको होे । आदेश आएलगत्तै पीडित अदालतमा बेहोस भएकी थिइन् । अदालतमै मर्ने भन्दै बेलुका अबेरसम्म उनी अदालतमै बसिन् । 

४ जेठमा आफूमाथि रिजालले बलात्कार गरेको पीडितको जाहेरी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले आरोपी रिजाललाई पक्राउ गरी मुद्दा दायर गरेकोमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध उनी उच्च अदालत गएकोमा उच्चले गम्भीर मुद्दामा छाड्ने आदेश दिएको हो । यो आदेशले आफूमाथि ठूलो अन्याय भएको पीडितले बताइन् । ‘अब म बाँच्नुको अर्थ रहेन,’ उनले नयाँ पत्रिकासँग रुँदै भनिन्, ‘एक एकल महिला हुँ, उनले मेरो अस्मिता लुटे, अदालतले उनलाई छाडेपछि म अब कहाँ जाने ?’ 

पीडितका अनुसार रिजाल पेसाले लेखापढी व्यवसायी हुन् । जग्गाको कित्ताकाटलगायत काममा रिजालसँग उनको चिनजान भएको थियो । त्यही क्रममा आफ्नो घरमा आएका वेला उनले बलात्कार गरेको उनको उजुरी छ । आफ्नो नागरिकतासमेत दुरुपयोग गरी आफ्नो नाममा सिमकार्ड निकालेर तथा अस्पतालमा रहेको भनेर नक्कली प्रमाण अदालतमा पेस गरिएको पीडितको दाबी छ ।

सुझावित समाचार