फेसन टिप्स
मेहदीका फाइदा
मेहदी मूलतः सुन्दरताका लागि लगाइन्छ । परापूर्वकालदेखि पूर्वीय सभ्यतामा मेहदी लगाउने चलन छ । मूलतः नारीहरूले चाडपर्व तथा विभिन्न सभा समारोहमा मेहदी लगाएर आफ्नो हात तथा खुट्टालाई सुन्दर बनाउने गर्छन् ।
विगतमा विवाहमा मात्र लगाइने मेहदी अहिले अन्य चाडपर्वमा पनि लगाउने प्रचलन बढेको छ । मेहदी लगाउँदा हातखुट्टामा दूषित पानीको असर पर्दैन, त्यही कारण पनि चाडपर्व तथा तिजको वेलामा पानीसँग बढी खेल्नुपर्ने भएकाले महिलाले मेहदी लगाउने गरेका हुन् ।
मेहदी आफैँमा प्रतिरक्षा वनस्पति भएकाले यसले एलर्जी तथा अन्य समस्याबाट छालालाई जोगाउँछ । त्यही कारण वैज्ञानिक हिसाबले पनि मेहदी लगाउनु उपयुक्त मानिन्छ ।
मेहदी आफैँमा प्रतिरक्षा वनस्पति भएकाले यसले एलर्जी तथा अन्य समस्याबाट छालालाई जोगाउँछ । सोही कारण वैज्ञानिक हिसाबले पनि मेहदी लगाउनु उपयुक्त मानिदै आएको छ ।
मेहदी कसरी तयार गरिन्छ ?
मेहदीको बोटबाट पात टिपेर त्यसलाई हलुका सुकाएर पिसेर पाउडरको रूपमा विगतमा मेहदी तयार गरिन्थ्यो । तर, आजकाल बजारमा मेहदीको तयारी पाउडर पाइन्छ ।
अझ लगाउनका लागि तयार गरिएको मेहदी भरिएको कोन पनि बजारमा किन्न पाइन्छ । बजारबाट किनिएको पाउडरलाई सुरुमा चाल्नुपर्छ । त्यसपछि धुलोलाई पानी र मेहदी तेलयुक्त घोलमा भिजाउनुपर्छ ।
यसरी भिजाएको दुई–तीन घन्टामा मेहदी लगाउनका लागि तयार हुन्छ । अब भिजाएको मेहदीलाई कोनमा भरेर त्यसबाट आफूले चाहेको डिजाइनअनुसारको फुलबुट्टा तथा चित्र कोरेर लगाउन सकिन्छ । मूलतः अहिले तिज पर्व नजिकिँदै छ । तिजमा आफ्नो पहिरनको डिजाइन तथा आफ्नो रोजाइअनुसारको डिजाइनमा मेहदी लगाउन सकिन्छ ।
मेहदीका डिजाइन
मेहदीको डिजाइन विभिन्न प्रकारका हुन्छन् । आफूलाई मन परेको डिजाइनमा मेहदी लगाएर हातखुट्टालाई सजाउन सकिन्छ । तथापि, अहिले चलेका डिजाइन निम्न प्रकारका रहेका छन्:
ब्राइडल डिजाइन : यो नितान्त विवाहको वेलामा बेहुलीका लागि लगाइने डिजाइन हो ।
बेँगल डिजाइन : यसलाई हातखुट्टामा लगाइन बृहत् डिजाइन मानिन्छ । हुन त खुट्टामा झपक्कै देखिने प्रकारको डिजाइन बेँगल डिजाइन हो । यसमा विभिन्न प्रकारका फूलबुट्टा बनाइन्छ ।
वान लाइन डिजाइन : यो एक धर्के प्रकारको डिजाइन हो । यो डिजाइनमा एकसरो लामो प्रकारको फूलबुट्टा तथा माछिकाँडे डिजाइनहरू बनाइन्छ ।
पार्टी मेहदी : पारम्पारिक मेहदीभन्दा यो केही फरक हुन्छ । यो मेहदीमा विभिन्न टल्कने सामग्री मिसावट गरिन्छ । जसका कारण यस्तो मेहदीको फूलबुट्टा तथा डिजाइन पार्टीमा रातिको समयमा टल्कने र अझ आकर्षक देखिन्छ । सोही कारण यसको नाम पार्टी डिजाइन मेहदी राखिएको हो ।
ब्ल्याक ब्राउन मेहदी डिजाइन : यो ट्याटुको स्टाइलमा बनाउने मेहदी डिजाइन हो । यो डिजाइन लामो समयसम्म रहने हुँदा यसको पनि प्रचलन बढेको छ । पछिल्लो समय अधिकांश युवतीले यस्तो प्रकारको डिजाइन प्रयोग गर्दै आएका छन् ।