फेसन टिप्स
नेपाली बजारमा विभिन्न डिजाइनका लेहेंगा पाइन्छन् । तर, बुटिक र डिजाइनअनुसार लेहेंगाका डिजाइन र मूल्य पनि फरक–फरक हुन्छन् । अहिले विशेष गरी सिल्क, जर्जेट, नेट र भेल्भेटका कपडा प्रयोग भएका लेहेंगा चल्तीमा छन् । महिलाहरूले पार्टीमा साडीभन्दा लेहेंगा लगाएर जान थालेका छन् । पहिले विवाहमा बेहुलीले साडी मात्रै लगाउने चलन थियो ।
तर, अहिले बेहुलीले पनि लेहेंगा लगाउने फेसन आएको छ । तिजमा पनि महिला दिदीबहिनीले साडी लगाएको देखिन्थ्यो, अहिले तिजका लागि लेहेंगा नै लगाएर नाचेको देखिन्छ । लेहेंगा विवाह पार्टी मात्रै नभएर जुनसुकै समारोहमा लगाएर जाने सजिलो पहिरन हो । लेहेंगा युनिक र सुन्दर देखिन चाहनेहरूका लागि विकल्पको पहिरन बनेको छ । त्यसैले फेसनेबल र आकर्षक हुने भएकाले हरेक उमेरसमूहका महिलाको रोजाइमा परेको छ, लेहेंगा । विवाह पार्टीमा नाच्दा, गाउँदा साडीमा भन्दा लेहेंगामा सहज हुन्छ । लेहेंगा लगाउँदा साडीलाई जस्तो स्याहार्नुपर्दैन ।
लेहेंगाको डिजाइन र फ्याब्रिकअनुसार मूल्य फरक–फरक हुन्छ । अर्काे ह्यान्डवर्क र मेसिनवर्कबाट तयार भएको लेहेंगाको मूल्य फरक हुन्छ । मैले डिजाइन गरेको लेहेंगा २० हजारदेखि माथि नै पर्न आउँछ । तीन लाख ५० हजारसम्मको लेहेंगा डिजाइन गरेकी छु । लेहेंगा डिजाइन गर्न निकै मिहिनेत गर्नुपर्छ । महँगो लेहेंगा नै लगाउनुपर्छ भन्ने छैन । बजारमा १५ देखि २० हजारमाथिका लेहेंगा पनि हुन्छन् । त्यसैले आफ्नो बजेटअनुसार लेहेंगा डिजाइन गरेर लगाउन सकिन्छ ।
ब्राइडल लेहेंगा
अहिले बजारमा ब्राइडल लेहेंगाको माग बढी छ । नेपालमा ब्राइडल लेहेंगाका लागि भेल्भेटको कपडा प्रयोग गरिएको हुन्छ । यो विशेष गरी विवाह र अन्य पार्टीमा लगाइने हुनाले यसको माग बढेको हो । ह्यान्डवर्क लेहेंगा एकदमै महंगो पनि हुन्छ । भेल्भेट आफैँमा रोयल फ्याब्रिक हो । यो भेल्भेटको कपडामा डिजाइनरको सिर्जनात्मक आकर्षक बुट्टा प्रयोग गरिएको हुन्छ । भेल्भेट कपडा चम्किलो हुन्छ, त्यसैले पनि लेहेंगा झनै आकर्षक देखिन्छ । ह्यान्डवर्कको एक सेट लेहेंगाको मूल्य ५० हजारदेखि माथि पर्न आउँछ । मेसिनवर्कलाई ३० हजारदेखि माथि पर्न आउँछ । अहिले तिजको सिजनमा झन् यो लेहेंगाको माग बढेको छ ।
प्रिन्टेड फ्याब्रिक लेहेंगा
अहिले प्रिन्टेड फ्याब्रिकमा लेहेंगा महिला दिदीबहिनीहरूको रोजाइमा छ । विवाह पार्टी होस् वा समारोहमा होस्, सधैँ लेहेंगा प्रिय बनेको छ । यसका लागि फ्याब्रिक कपडाको थान आउँछ । त्यसमा ब्लाउज, सल म्याच हुने गरी डिजाइन गरिन्छ । यसको मूल्यचाहिँ २० हजारदेखि माथि पर्न आउँछ । अहिले तिज पार्टीका लागि पनि महिलाहरूको रोजाइमा छ ।
सिल्क लेहेंगा
सिल्क कपडा आफैँमा मुलायम हुन्छ । यो पनि ह्यान्डवर्क गरेर डिजाइन गरिन्छ । पहिले नै प्रिन्ट भएर पनि आउँछ । यो अन्य लेहेंगाभन्दा अलि सस्तो पर्न आउँछ । यो लेहेंगाको मूल्य ३० देखि ३५ हजारसम्म पर्न आउँछ । आफ्नो बजेटअनुसारको डिजाइन र स्टाइलका लेहेंगा अर्डर गर्दा राम्रो हुन्छ । यो लेहेंगाले महिला दिदीबहिनीको साडीमा भन्दा आकर्षण बढाएको छ ।
नेट लेहेंगा
‘प्लेन’ आउँछ, यसलाई डिजाइनरले कलर गरेर लेहेंगा तयार गरिन्छ । अहिले बजारमा विभिन्न कलरका नेट लेहेंगा पनि आउँछन् । ग्राहकले रोजेको जस्तो आउँदैन, प्लेन कपडालाई विभिन्न रङमा परिणत गरेर डिजाइन बनाउन सकिन्छ । त्यसैले ह्यान्डवर्क र मेसिनवर्कको मूल्य फरक हुन्छ । यो लेहेंगा पनि ३० देखि ३५ हजारसम्ममा तयार हुन्छ । तर, कसैलाई ह्यान्डवर्क राम्रो लाग्छ भन्नुहुन्छ । यसको मूल्य ५५ हजारदेखि माथि पर्न आउँछ । यो लेहेंगा पनि अधिकांशको रोजाइमा छ ।