धान आयात ३० प्रतिशत घटाउने सरकारी लक्ष्य पूरा हुन कठिन

सिँचाइ र मल अभावका कारण समयमै रोपाइँ नहुँदा धान उत्पादन घट्ने

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत धान आयातलाई ३० प्रतिशत कम गर्ने योजना पूरा गर्न कठिन हुने देखिएको छ । बजेटमा धान, मकै, गहुँ, तरकारी र फलफूल आयातलाई ३० प्रतिशतले कम गर्ने गरी राखेको योजनामा धान आयात घटाउन भने सरकारलाई कठिन हुने देखिएको हो । विगत पाँच वर्षदेखिको धान रोपाइँ र उत्पादनको अवस्था र आयातको दरलाई हेर्दा सरकार लक्ष्यसम्म पुग्न नसक्ने देखिएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा धान रोपाइँ ५ प्रतिशतका दरले कमी आएको छ । गत वर्ष ९७ प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष साउनको अन्तिम साता लागिसक्दा समग्रमा ९२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

हरेक वर्ष हुने मलको चरम अभाव, सिँचाइको पहुँच नपुग्दा र बेमौसमी वर्षाले क्षति पुर्याउँदा सरकार राखेको लक्ष्यमा पुग्न सकेको छैन । धान रोप्न योग्य १५ लाख हेक्टर जमिनमध्ये १३ लाख ९१ हजार हेक्टर जमिनमा मात्र रोपाइँ सम्पन्न भएको छ । हरेक वर्ष धान रोपाइँको परिणाम सकारात्मक देखिए पनि उत्पादनमा भने ह्रास आइरहेको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्ष ०७८/७९ मा लगाइएको धान ३.४७ प्रतिशत प्रतिहेक्टर मात्र उत्पादन भएको छ । आर्थिक वर्ष ०७७/७८ को तुलनामा ८ दशमलव ७४ प्रतिशतले धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ । मलको अभाव र मौसमी सिँचाइका कारण धान रोपाइँमा हुन सक्ने ढिलाइले उत्पादनमा कमी आउने धान विशेषज्ञ तथा कृषि अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता डा. उज्ज्वल कुशवाहले जानकारी दिए । पछिल्लो समय एकै प्रकारको धान वर्षाैँसम्म लगाउने र सिँचाइ मल र धानमा लाग्ने किराका कारण उत्पादनमा कमी आउने गरेको उनको भनाइ छ । ‘हाम्रो भूगोलअनुसार साउनको अन्तिमसम्म धान रोपाइँ हुन्छ । तर, असार साउनमै मौसम र सिँचाइ पुगेको ठाउँमा किरालगायत रोग लाग्ने सम्भावना कम हुन्छ,’ उनले भने । 

विगत चार वर्षको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष धान उत्पादनमा कमी हुँदै आएको छ । आर्थिक वर्ष ०७४/७५ मा शून्य दशमलव ४१ प्रतिशतले कमी आएको थियो भने ०७५/७६ मा ८.५५ प्रतिशतले कमी आएको थियो । त्यस्तै, ०७६/७७ मा ७.५७  प्रतिशतले कमी आएको थियो । त्यस्तै, ०७७/७८ मा आठ दशमलव ७४ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ । उत्पादनमा आइरहेको ह्राससँगै सरकारले राखेको उद्देश्यविपरीत आयात बढिरहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६५ करोडको धान आयात भएको भन्सार विभागमा उल्लेख छ । त्यस्तै, ०७७/७८ मा ५० अर्ब ७८ करोड रुपैयाँको आयात भएको छ भने अघिल्लो आर्थिक ४७ अर्ब ५७ करोड रुपैयाँको धान आयात भएको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चैते र बर्खे धान उत्पादनलाई मुख्य प्राथमिकता दिएर सरकारले राखेको लक्ष्य भेट्ने कोसिस गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले ल्याएको योजना महत्वाकांक्षी भए पनि त्यसलाई पूरा गर्न चैते धानको उत्पादनलाई बढाउने गरी योजना बनेको हो । अहिले रहेको उत्पादन र आयातबीचको खाडल पुर्ने र सरकारले राखेको लक्ष्यनजिक पुग्न सक्ने आकलनमा मन्त्रालय जुटिसकेको सञ्जेलको भनाइ छ । ‘सरकारले राखेको लक्ष्यलाई अहिले नै मूल्यांकन गर्न चाँडो हुन सक्ला, तर त्यसलाई फोकस गर्नका लागि चैते धानको उत्पादन परिणामलाई बढाउने र आयातको दरलाई केही कम गर्ने योजना बनेका छन्,’ उनले भने ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निर्देशनमा सरकारले चैते धान र बर्खे धानको उत्पादन बढाउनका लागि समिति बनाएर योजना अघि बढाएको र सबैभन्दा फोकस धान उत्पादनमा गर्न लागिएको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रालयबाट निर्देशन आएको छ, अब चैते धानका लागि उन्नत बिउबिजन र रोपाइँको क्षेत्र बढाउने मन्त्रालयको तयारीमा छौँ ।’ सरकारले अहिले चालेको कदमले तत्काल नतिजा नदिए पनि  केही वर्षमा यसको नतिजा र धान उत्पादनको परिमाण बढ्दै जाने पाण्डेले बताइन् ।

See More On

सुझावित समाचार