नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेबापत आफू प्रधानमन्त्रीबाट हटनुपरेको दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष ओलीले सो भूभागलाई नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको दाबी गरेका हुन् ।
‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भूभाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर, कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भूभाग हटाइयो । पहिले त्यो भूभाग थियो, पछि हटाइयो । हटाइएको रहेछ–इतिहास खोज्दै जाँदा’, उनले भने, ‘त्यसलाई सामेल गरेपछि त्यतिवेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । र, मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ । त्यो कुरा थाहा थियो । र, नभन्दै हट्नुपर्यो पनि ।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट हट्नुपरेकोमा आफूलाई पिर नलागेको दाबी गरे । तर, सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको उनको भनाइ थियो । ‘मलाई प्रधानमन्त्रीबाट हट्नुपरेकोमा पिर छैन । तर, देश जता जाँदै छ, जता लगिँदै छ, त्यस कुरामा पिर छ, उनले भने ।
अध्यक्ष ओलीले पूर्वजहरूले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडे मात्रै पुग्ने टिप्पणी गरे । ओलीले एमसिसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेस गरेको बताउँदै त्यसलाई अनर्थ लगाइएकाे बताए ।