जंगी अड्डामा बिहीबार आयोजित सीमा व्यवस्थापनसम्बन्धी सेमिनारमा आधारित नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सेनाले चासो व्यक्त गरेको छ । सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले सेमिनारमा प्रधानसेनापति प्रभुराम शर्माको भनाइको आशय ‘नेपाल–भारत सीमामा काँडेतार लगाउनुपर्ने’ नरहेको बताएका छन् ।
प्रवक्ता सिलवालका अनुसार सेमिनारमा प्रधानसेनापति शर्माको भनाइ थियो, ‘गुड फेन्सेस मेक गुड नेभर्स (गतिलो बार–बन्देजले असल छिमेकी बनाउँछ) । यसो भए तापनि अन्तर्राष्ट्रिय सम्बन्धहरूको परिदृश्यमा अन्तर्राष्ट्रिय सीमाका आ–आफ्नै विशिष्टता र जटिलता रहने गरेको सर्वविदितै छ ।’ प्रधानसेनापतिको यो भनाइको आशय सीमामा काँडेतार नै लगाउनुपर्छ भन्ने नरहेको सिलवालले बताए । समाचारको शीर्षक र प्रधानसेनापतिको भनाइमा तादत्म्यता नदेखिएको उनको जिकिर छ ।
भारतीय राजदूत–प्रधानसेनापति भेट
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शुक्रबार जंगी अड्डामा भेटवार्ता गरेका छन् । राजदूतका रूपमा श्रीवास्तवको प्रधानसेनापतिसँगको यो पहिलो भेटवार्ता हो ।
भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।