राजस्व लक्ष्य पूरा गर्न भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगन्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्नको लागि चोभार सुख्खा बन्दरगाह आउने कन्टेनरहरू वीरगन्जमा रोक्न नमिल्ने बताएका छन् । बिहीबार मन्त्रालयमा चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । 

मन्त्री बडूले राजस्व संकलनको लक्ष्य पूरा गर्नको लागि वीरगन्जमा सामान ‘ब्लक’ गर्दा  पनि नाकाको लोड नहट्ने हो भने ब्लक गर्नुको कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए । वीरगन्ज नाकाबाट काठमाडौं उपत्यकामा आउने सामान धेरै भएकाले उपत्यकामा आउने लोड मात्रै घटाउन सके पनि छिटो छरितो हुने उनको भनाइ थियो । 

‘वीरगन्जलाई छुटै राजस्व बढाउने टार्गेट थियो। राजस्व बढाउन त्यहाँ रोक्नुको कुनै अर्थ छैन । त्यसकारणले यसलाई अर्थ मन्त्रालय,राष्ट्र बैंकले पनि हेर्नुपर्छ । टार्गेट दिएको छ भनेर वीरगन्जमा ब्लक गर्ने भयो भने ब्लकको ब्लक रहने लोड नहट्ने हो भने अर्थ केही हुँदैन,’ मन्त्री बडूले भने ।  

मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । बन्दरगाह सञ्चालनमा ल्याउनको लागि प्रचारप्रसार गर्न निर्देशनसमेत दिए ।  बन्दरगाह सञ्चालनमा नीतिगत समस्या भए त्यसलाई परिवर्तन गर्न सरकार तयार रहेको उनको भनाइ थियो । 

सुझावित समाचार