युवा शक्तिलाई स्वदेशमा बसाल्ने वातावरण राज्यले पैदा गर्न सकेनः श्रममन्त्री कुँवर

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बसाल्ने वातावरण राज्यले पैदा गर्न नसकेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भुमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर युवाहरु विदेश पलायन हुनुपरेको बताएका हुन्। 

मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जन गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताए। राज्यका नीति, ऐन, कानूनहरुलाई पनि परिमार्जन गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरू गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको मन्त्री कुँवरको भनाई छ।

उनले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सञ्चिति गर्न कठिन हुने बताए। सरकारले ल्याउने कुनैपनि ऐन, कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उनको भनाई छ। ‘वैदेशिक रोजगारको आकर्षण छ, यो हाम्रो बाध्यता हो, कुनैपनि दाजुभाई विदेशमा जान चाहँदैनन्, जतिसुकै तलब होस्, आफ्नो स्वाभिमान देशमा नै राख्न चाहन्छन्,’ उनले भने, ‘तर चारैतिर ढोका बन्द भयो भने उसले भेन्टिलेट खोज्छ, भेन्टिलेटको रुपमा वैदेशिक रोजगारलाई लिएको हो।’ उनले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

 ५० लाख जति युवा शक्ति विदेशमा रहेको बताउँदै मन्त्री कुँवरले जग्गा, जमिन बाझै रहेको समेत बताए। सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको मन्त्री कुँवरको भनाई छ। 

सुझावित समाचार