अर्थमन्त्री जनार्दन शर्माले विधि र प्रक्रियाभित्रै बसेर बजेट निर्माण गरेको र एउटा होइन, हजारौँ छानबिनका लागि तयार रहेको बताएका छन् । बुधबार संसद्मा राजीनामाको घोषणापूर्व सम्बोधन गर्दै शर्माले राजनीतिक हत्या गर्ने उद्देश्यले आफूमाथि प्रतिशोधपूर्ण आरोप लगाइएको बताएका छन् ।
‘म धेरै लामो कुरा राख्न चाहन्नँ । म एउटा राजनीतिक व्यक्ति हुँ । देश परिवर्तनको आन्दोलनमा, ठूला–ठूला आन्दोलनमा, जनयुद्धमा, जनआन्दोलनमा, संविधान निर्माणका आन्दोलनमा र जनताको हक–अधिकार स्थापित गर्ने मामलामा अग्रज नेताहरूसँग काँधमा काँध मिलाएर अगाडि बढेको छु,’ शर्माले भने, ‘आफ्नो प्रतिबद्धताबाट, आफ्नो कन्भिक्सनबाट कहिले पनि डगेको छैन र झुकेको पनि छैन । बजेट निर्माणको सन्दर्भमा आफ्नो मूल्य र मान्यता, मेरो नैतिकता, मेरो राष्ट्रप्रतिको, जनताप्रतिको इमानदारिता मैले कतै पनि डगमगिन दिएको छैन र भोलि पनि दिन्न । म यो एउटा संसदीय छानबिन मात्र होइन, हजारौँ छानबिनका लागि तयार छु ।’
विगतमा आरोप लाग्ने र संसदीय समिति बन्दा पनि राजीनामा नदिएका उदाहरण रहेको भन्दै मन्त्री शर्माले छानबिनलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको घोषणा गरे । ‘हिजो यस्ता विषय नउठेका होइनन्, छानबिन समिति नबनेको होइन । छानबिन समिति बनेका विभिन्न अनुभव छन्, विभिन्न पक्ष छन्,’ उनले भने, ‘आज आमनागरिकले विषय उठाएका कारण, नागरिक समाजले विषय उठाएका कारण, आमनागरिकलाई एउटा भ्रम सिर्जना भएका कारण छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु ।’
राष्ट्रको पक्षमा काम गर्दागर्दै पनि भ्रम सिर्जना गरिएकाले सत्य–तथ्यले नै स्पष्ट गर्ने विश्वासका साथ राजीनामा गरेको बताए । ‘राष्ट्रियताको, राष्ट्र र जनताको पक्षमा उभिएर निरन्तर संघर्षबाट अगाडि बढिरहेको एउटा व्यक्तिमाथि अनावश्यक झुटा लाञ्छना, आरोप जो लगाइएको छ, म आफ्नोतर्पmबाट त्यसलाई अस्वीकार गर्दछु र खारेज गर्दछु । छानबिन समितिले गर्ने काममा मेरो पूर्ण सहयोग हुनेछ,’ उनले भने, ‘यस्ता छानबिन समिति बन्दा विगतमा मन्त्री कायम भएरै छानबिन भएका पनि तथ्य छन् । तर, म त्यो चाहन्नँ । छानबिन समिति बनाउने विषय आज मात्रै आएर भयो । छानबिन समिति बनेको छ, म स्वागत गर्छु ।’
हिजो यस्ता विषय नउठेका होइनन्, छानबिन समिति नबनेको होइन । छानबिन समिति बनेका विभिन्न अनुभव छन्, विभिन्न पक्ष छन् । आज आमनागरिकले विषय उठाएका कारण, नागरिक समाजले विषय उठाएका कारण, आमनागरिकलाई एउटा भ्रम सिर्जना भएका कारण छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु ।
शर्माले राजनीतिक पूर्वाग्रहले आफूमाथि आरोप लगाइएको बताए । ‘जे देखियो अहिले, एउटा पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो, समितिबारे भर्खरै आफ्नो आदेश जारी गर्नुभयो । आफ्नो फरमान जारी गर्नुभयो । र, उहाँले एउटा सैनिक नेतृत्वले जस्तै दोषी करार गर्नुभयो । के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो,’ उनले भने ।
एकपछि अर्को भ्रमको सिर्जना गरिएको भन्दै सच्चाइको गहिराइमा पुग्न अनुरोध गरे । ‘संसद्को रोस्ट्रमबाट आमनागरिक समाज, बुद्धिजीवी, युवा र नागरिकलाई म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु– विषयहरू कसरी आए ? कसरी प्रस्तुत भए ? र, त्यसले यहाँहरूमा भ्रम सिर्जना गर्ने प्रयत्न गरियो । यहाँहरूले उठाएका विषयलाई म सम्मान गर्छु । उहाँहरूले मागेको राजीनामालाई म सम्मान गर्छु,’ उनले भने, ‘तर, सँगसँगै म हार्दिकता÷विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु– सच्चाइको गहिराइमा पुग्नैपर्छ । तथ्यको गहिराइमा पुग्नैपर्छ । यो राजनीतिक प्रतिशोधभित्रबाट उठेका प्रश्नहरूमा सच्चाइमा पुगिएन भने कतै फेरि कसैलाई अन्याय हुन्छ कि भन्नेबारे सोच्न पनि म अनुरोध गर्दछु ।’
मन्त्री शर्माले तथ्यका आधारमा धारणा बनाउन पनि सबैमा आग्रह गरे । ‘छानबिन समितिले ल्याएको तथ्य–सत्यको अगाडि उपस्थित भएर फेरि म आफ्ना विषयवस्तुलाई, आफ्ना अभियानलाई र आफ्नो कामलाई अगाडि बढाउनेछु । देश र जनताको पक्षमा लाग्ने प्रतिबद्धता गर्न चाहन्छु,’ उनले भने, ‘म धन्यवाद दिन चाहन्छु, मेरो राजीनामा माग्ने नागरिक समाजलाई, युवापंक्तिलाई । मैले गल्ती गरेको छैन, तपाईंहरूको आवाजलाई सम्मान गरेर मैले राजीनामा दिएको छु, तथ्यमा गइदिनुहोला ।’
मन्त्री शर्माले विगतमा एमालेका अर्थमन्त्रीहरूले कसैलाई लाभ हुने काम गरेको संकेत गर्दै आफूबाट त्यस्तो गल्ती नभएको बताए । ‘अर्थमन्त्रीको हैसियतले मैले यहाँ विषय राखिरहँदा धेरै विषय छन् । मप्रति उठेका विषयको जवाफ कसरी दिन्छु, त्यो मेरो दायित्व हो । धेरै विषय छन्, विगतका विषय म अहिले कोट्याउन चाहन्नँ । मैले संसद्मा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ?’ शर्माले प्रश्न गरे, ‘न मैले संकट परेका जनताको कोरोनाका क्रममा बदमासी गरेँ, न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउन अनुमति दिएँ, सूचना दिएँ । न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ ? के कारणले म अनैतिक भएँ ?’
शर्माले संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि पनि प्रश्न तेस्र्याए । ‘संसद् विघटन भयो– एकपटक होइन, दुईपटक । लोकतन्त्रको बहाली भयो र संसद् सुचारु गर्ने प्रक्रिया अगाडि बढ्यो । र, यो क्रममा पनि हामीले धेरै उतारचढाव भोग्यौँ । राष्ट्रबारे गम्भीर प्रकृतिका एजेन्डामा यहाँ बहस भए । एसएसपीलगायतका एजेन्डामा बहस भए, छलफल भए । ती एजेन्डा आज पनि जिउँदै छन्,’ शर्माले भने, ‘संसदीय छानबिन समिति सरकारको पहल, सम्माननीय सभामुखको अगुवाइमा जो संसदीय समिति बनेको छ, त्यसलाई म स्वागत गर्न चाहन्छु ।’
मन्त्री शर्माले सिसिटिभी फुटेज डिलिट गरेको भनेर आफूमाथि आरोप लगाइएको बताए । ‘म करिब साढे ११ बजे पुल्चोक क्वार्टरमा गएर सुतेको छु र बिहान ६ बजे मन्त्रालय पुगेको छु । मन्त्रालय म पुगिरहँदा सचिव सोफामा पल्टिरहेको र डिजीहरू त्यहाँ काम गरेर टुंग्याउने अवस्थामा रहेको, उहाँको सहयोगी त्यहाँ काम गरिरहेको अवस्था मैले देखेको थिएँ । र, यो कुरालाई जसरी अहिले यहाँ कथा बनाइएको छ र जसरी यहाँ प्रस्तुत गर्न खोजिएको छ, आमजनतालाई भ्रमित गर्न खोजिएको छ,’ उनले भने, ‘कुन सिसिटिभीको क्षमता कति हुन्छ ? म कसरी थाहा पाउँछु ? कुन मन्त्रीले गएर सबैभन्दा पहिले सिसिटिभीको जानकारी लिन्छ होला ? डिलिट गर्यो भनेर आमनागरिकलाई भ्रमित गर्ने जुन प्रयत्न गरिएको छ, त्यसको म खारेजी गर्न चाहन्छु । सत्य–तथ्य त्यहीँ छ । कसरी मैले त्यसको जवाफदेहिता लिन सक्छु ? मलाई कुनै कुरा डिलिट गर्नु पनि छैन, मलाई त्यो जरुरी पनि होइन र त्यसको मलाई ज्ञान पनि छैन ।’ स्थापित मान्यताभित्र बजेट बनेको र बजेट आत्मनिर्भर अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको दाबी गरे । ‘धेरै घटना छन्, अहिले म त्यतातिर जान चाहन्नँ । कुनै वेला उपयुक्त समयमा तमाम घटनाको, विगतका कुराको तथ्य प्रस्तुत गरौँला । आज म मेरो विषयमा भन्न चाहन्छु, छानबिन जो समिति बनेको छ, त्यसले छानबिन गरोस्,’ उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । स्थापित मान्यता, विधि र पद्धतिका आधारमा तोकिएका आधिकारिक व्यक्तिहरूमार्फत बजेट निर्माण भएको छ । करको दर हेरफेर गर्ने सन्दर्भमा मैले दुईजना सचिव र दुईजना डिजीहरूलाई नीतिगत निर्देशन गरेको छु ।’
शर्माले अहिलेको अर्थतन्त्रलाई हेरेर डलरको सञ्चिति कसरी गर्न सकिन्छ भन्ने विषयमा नीतिगत निर्देश गरेको बताए । उनले भने, ‘कसरी उत्पादन वृद्धि गर्न सकिन्छ ? औद्योगिक क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर कच्चापदार्थमा कर नबढाउने र जनताले उपभोग नगरे पनि हुने नेपालमै उत्पादन हुने वस्तुमा करहरूको दर बढाउने । र, महँगो डलर मूल्य पर्ने साधनलाई कर केही बढाएर आमजनताका लागि कम डलर खर्च गरेर आउने साधनमा यथावत् राख्ने नीति लिएको स्पष्ट गर्न चाहन्छु ।’ शर्माले सुपारी र मरिचको तस्करी घटाउने गरी कर बढाउनु कसरी अनैतिक भयो भनेर प्रश्न गरे । ‘विगतमा अर्बौँको सुपारी, केराउ र मरिचको तस्करी थियो, त्यो बन्द भएको छ । तस्करी बन्द हुने गरी करको दर बढाएको छु । के नेपालमा तस्करी घटाउनु अनैतिक हो ?’ उनले भने, ‘इतिहास साक्षी छ । विगतमा सुपारीको कसरी तस्करी भएको थियो ? मैले बन्द गरेको छु । ती कुरा कसरी गलत हुन सक्छन् ?’
उनले डलरको सञ्चितिका लागि महँगो मूल्य पर्ने बिजुली गाडीमा थोरै प्रतिशत कर बढाएको बताए । ‘पेट्रोलियम गाडीको चार गुणा बढी छ भने बिजुली गाडीको एकतिहाइ छ । त्यो आधारमा सय किलोवाटभन्दा माथिको रेट बढाइएको कुरा साँचो हो । त्यसको पछाडि हाम्रो डलर सञ्चिति कसरी कायम राख्ने भन्ने हो,’ शर्माले भने, ‘सेनेटरी प्याडको कुरा उठिरहेको छ । युवा महिलाले ‘रातो कर माफ गर’ भनेर गरेको आन्दोलन, विगतकै सरकारले बढाएको करमा महिलाले गरेको आन्दोलन मैले हेरेको छु । त्यतिवेलाको सरकारले तिनलाई दमन पनि गरेको थियो । त्यो महिलाको संवेदनशील विषय र मागलाई सम्बोधन गरिएको हो, तर त्यसो गर्दा देशभित्रका उद्योगको संरक्षण गर्ने नीति सँगसँगै ल्याएको कुरा मैले यहाँ पनि धेरैचोटि बताइसकेको पनि स्पष्ट गर्न चाहन्छु ।’
मन्त्री शर्माले सूचना चुहाएर कसलाई फाइदा पुगेको छ भन्ने पुष्टि गर्न पनि चुनौती दिए । ‘करका दरहरू हेरफेर गर्दा कहाँ सूचना चुहियो ? कुन व्यापारीले फाइदा लियो ? कुन विशेष घरानालाई इंगित गरियो ? कहाँ कसलाई गरियो ? छानबिन गरोस्, पत्ता लगाओस्,’ उनले भने, ‘मात्र देशको उत्पादनलाई गरिया, औद्योगीकरणलाई गरियो । र, आज अहिलेको बजेट र नीति कार्यक्रमबाट आमकिसानलाई उत्साहित गर्ने उत्पादन वृद्धिका लागि उत्साहित गर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिने, औद्योगिक क्षेत्रलाई प्राथमिकता दिने कुरा गरिएको छ । दलित, गरिब, महिला, उत्पीडित वर्ग सबैलाई राज्यबाट एउटा विशेष खालको अभियान चलाएर उनीहरूका समस्याको निराकरण गर्ने गरी गरिबीको अन्त्य गर्ने, दलितहरूलाई सामाजिक रूपमा मात्र होइन, आर्थिक रूपले समेत समृद्ध गर्ने बजेट प्रस्तुत गरिएको छ । त्यो के अनैतिकता हो ? त्यो के राष्ट्रघात हो ? त्यो कुनै राष्ट्रिय अपराध हो ? हो भने त्यसको जिम्मा लिन म तयार छु ।’
आयात प्रतिस्थापन गर्ने, रोजगारी वृद्धि गर्ने र त्यसमार्फत कृषि र औद्योगिक उत्पादनलाई अगाडि बढाएर गरिबी निवारण गर्ने विषय बजेटमा सारिएको उनको भनाइ छ । ‘म दाबाका साथ भन्न सक्छु– यो बजेटको कार्यान्वयनले आयातलाई प्रतिस्थापन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, निर्यात वृद्धिको नयाँ बाटो खोल्नेछ र यसले हाम्रो देशलाई आत्मनिर्भरतिर लैजाने कुरा पक्कापक्की छ । यसका लागि सिंगो राज्यसंयन्त्र सबै नागरिकलाई यसमा केन्द्रित गरेर अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसकारणले औद्योगिक क्षेत्रमा काम गर्नेलाई, निकासी गर्नेलाई विद्युत्मा छुट (८ प्रतिशत इन्सेन्टिभ) दिने कुराबाट आज औद्योगिक क्षेत्र उत्साहित भएको छ । उद्योगहरू स्थापना हुने क्रम चलेका छन्, अगाडि बढेका छन् । र, यसले औद्योगिक क्षेत्रमा ठूलो परिवर्तन आउनेछ ।’