नेपाल दूरसञ्चार प्राधिकरणको अध्ययन भन्छ– प्रदेश १, मधेस र गण्डकीमा मुख्य तीनवटै टेलिफोन सेवाप्रदायकको फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर, थ्रिजीको औसत र टूजीको उत्कृष्ट
नेपालका टेलिफोन सेवाप्रदायकले प्रदान गर्दै आएको फोरजी सेवाको गुणस्तर अत्यन्तै कमजोर रहेको देखिएको छ । प्रदेश १, मधेस र गण्डकी प्रदेशमा गरिएको अध्ययनले फोरजीभन्दा थ्रीजी र टुजीको सेवा गुणस्तरीय देखाएको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदाताबाट नौवटा सहर–गाउँका ६७ भन्दा बढी ठाउँमा गराएको अध्ययनले फोरजीको गुणस्तर कमजोर देखाएको हो । परामर्शदाता कम्पनी एभरेस्ट–माइक्रोटक जेभीले प्रदेश १ को विराटनगर, बिर्तामोड र इलाम, मधेस प्रदेशको जनकपुर, लाहान र वीरगन्ज तथा गण्डकी प्रदेशको गोर्खा, दमौली र कास्कीमा गरेको अध्ययनले यस्तो देखाएको हो । फोरजीको गुणस्तर अन्त्यन्त कमजोर हुँदा थ्रिजी सेवाको गुणस्तर औसत र टूजीको भने उत्कृष्ट देखिएको हो ।
परामर्शदाता कम्पनीले २८ डिसेम्बर २०२१ देखि ११ अप्रिल २०२२ सम्म अध्ययन गरेको थियो । अध्ययनका क्रममा फोन तथा एसएमएस, इन्टरनेट, डाटा अपलोड–डाउनलोड, कभरेजलगायतको परीक्षण गरिएको थियो । अध्ययनले सेमेटेका कुनै पनि ठाउँमा फोरजीको गुणस्तर राम्रो नदेखिएको प्रतिवेदनले आँैल्याएको छ । १९ ठाउँमा फोरजीको गुणस्तर अत्यन्तै कमजोर र बाँकी ठाउँमा कमजोर देखिएको छ । त्यस्तै, थ्रिजीतर्फ भने आठ ठाउँमा सन्तोषप्रद, आठ ठाउँमा राम्रो, बाँकी ठाउँमा गुणस्तर कमजोर देखिएको छ । टूजी सेवामा भने अधिकांश ठाउँमा राम्रो र सन्तोषप्रद देखिएको हो ।
देशभर हाल चार करोड २४ लाख टेलिफोन सेवा बिक्री भएका छन् । त्यसमध्ये चार करोड १६ लाख सिम बिक्री भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार एक करोड ७१ लाखले फोरजी चलाउँछन् । त्यसमध्ये टेलिकमका एक करोड चार लाख २१ हजार, एनसेलका ४५ लाख २२ हजार र स्मार्टका एक लाख ५९ हजार फोरजी सेवाग्राही रहेका छन् । फोरजीका सेवाग्राही बढ्दो क्रममा रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ । तर, सेवाग्राही बढे पनि सेवाप्रदायकले फोरजीको गुणस्तर कायम गर्न भने ध्यान दिएको देखिँदैन ।
कुन प्रदेशमा दूरसञ्चारको गुणस्तर कस्तो ?
प्रदेश १ : प्रदेश १ मा फोन लाग्ने दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९६.१८ प्रतिशत, एनसेलको ९२.५७ प्रतिशत र स्मार्टको ७९.९६ प्रतिशत रहेको छ । फोन काटिने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ०.४८ प्रतिशत, एनसेलको ८.४१ प्रतिशत र स्मार्टको ०.७४ प्रतिशत रहेको छ ।
त्यस्तै, फोनमा कुराकानीका दौरानमा हुने गुणस्तर ३ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ३.६४, एनसेलको ३.९२ र स्मार्टको ३.९८ रहेको छ । कल हस्तान्तरण सफलदर टेलिकमको ९७.८५ प्रतिशत, एनसेलको ९९.४० प्रतिशत र स्मार्टको ९९.१९ प्रतिशत रहेको छ । फोन लाग्ने समय पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ६.५९ सेकेन्ड, एनसेलको ६.३३ सेकेन्ड र स्मार्टको ८.७२ सेकेन्ड रहेको छ । एसएमएस प्राप्ति सफलता दर टेलिकमको ९९.९४ प्रतिशत, एनसेलको ९९.०७ प्रतिशत र स्मार्टको ३९.७६ प्रतिशत रहेको छ ।
प्रदेश १ मा ब्राउजिङ खुल्ने सफलता दर टेलिकमको ९९.४१ प्रतिशत, एनसेलको ९७.९२ प्रतिशत र स्मार्टको ५६.२१ प्रतिशत रहेको छ । ब्राउजिङ खुल्न लाग्ने औसत समय टेलिकमको ८.४१ सेकेन्ड, एनसेलको १८.१७ सेकेन्ड र स्मार्टको १८.९२ सेकेन्ड रहेको छ । औसत डाउनलोड गति टेलिकमको २४.२४ एमबिपिएस, एनसेलको १८.८ एमबिपिएस र स्मार्टको ८.७६ एमबिपिएस रहेको छ ।
औसत अपलोड गति टेलिकमको १०.८६ एमबिपिएस, एनसेलको ९.५८ एमबिपिएस र स्मार्टको ४.३१ एमबिपिएस रहेको छ । डाउनलोड सफलता दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुुपर्नेमा टेलिकमको ९३.६१ प्रतिशत, एनसेलको ७८.६३ प्रतिशत र स्मार्टको ६.९ प्रतिशत रहेको छ । त्यस्तै, अपलोड सफलता दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९५.०६ प्रतिशत, एनसेलको ९२.३४ प्रतिशत र स्मार्टको ८.८१ प्रतिशत रहेको छ ।
मधेस प्रदेश : मधेस प्रदेशमा फोन लाग्ने दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९८.१७ प्रतिशत, एनसेलको ९७.३९ प्रतिशत र स्मार्टको ६०.३४ प्रतिशत रहेको छ । फोन काटिने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ०.१५ प्रतिशत, एनसेलको ६.३० प्रतिशत र स्मार्टको ०.७९ प्रतिशत रहेको छ ।
त्यस्तै, फोनमा कुराकानीका दौरानमा हुने गुणस्तर ३ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ३.७१, एनसेलको ३.८७ र स्मार्टको ३.७७ रहेको छ । कल हस्तान्तरण सफल दर टेलिकमको ९७.१३ प्रतिशत, एनसेलको ९९.१५ प्रतिशत र स्मार्टको ९२.५० प्रतिशत रहेको छ । फोन लाग्ने समय पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ६.६८ सेकेन्ड, एनसेलको ६.१३ सेकेन्ड र स्मार्टको ९.४७ सेकेन्ड रहेको छ । एसएमएस प्राप्ति सफलता दर टेलिकमको ९९.५६ प्रतिशत, एनसेलको ९९.३० प्रतिशत र स्मार्टको ६६.३५ प्रतिशत रहेको छ ।
मधेस प्रदेशमा ब्राउजिङ खुल्ने सफलता दर टेलिकमको ९९.६६ प्रतिशत, एनसेलको ९७.१४ प्रतिशत र स्मार्टको ५६.८८ प्रतिशत रहेको छ । ब्राउजिङ खुल्न लाग्ने औसत समय टेलिकमको १०.२ सेकेन्ड, एनसेलको २१.०५ सेकेन्ड र स्मार्टको ५०.२३ सेकेन्ड रहेको छ । औसत डाउनलोड गति टेलिकमको १७.२४ एमबिपिएस, एनसेलको १५.५६ एमबिपिएस र स्मार्टको ५.५ एमबिपिएस रहेको छ ।
औसत अपलोड गति टेलिकमको ५.९७ एमबिपिएस, एनसेलको ६.३१ एमबिपिएस र स्मार्टको १.८५ एमबिपिएस रहेको छ । डाउनलोड सफलता दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुुपर्नेमा टेलिकमको ९१.३९ प्रतिशत, एनसेलको ७०.९९ प्रतिशत र स्मार्टको ८.४८ प्रतिशत रहेको छ । त्यस्तै, अपलोड सफलता दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकममको ९३.८३ प्रतिशत, एनसेलको ९६.३२ प्रतिशत र स्मार्टको १७.७२ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेश : गण्डकी प्रदेशमा फोन लाग्ने दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ९७.८९ प्रतिशत, एनसेलको ९६.२५ प्रतिशत र स्मार्टको ५९.१८ प्रतिशत रहेको छ । फोन काटिने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ०.८६ प्रतिशत, एनसेलको ४.८५ प्रतिशत र स्मार्टको २.०२ प्रतिशत रहेको छ ।
त्यस्तै, फोनमा कुराकानीका दौरानमा हुने गुणस्तर ३ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ३.७४, एनसेलको ३.९३ र स्मार्टको ३.८८ रहेको छ । कल हस्तान्तरण सफल दर टेलिकमको ९९.३६ प्रतिशत, एनसेलको ९९.१६ प्रतिशत र स्मार्टको ९०.२२ प्रतिशत रहेको छ । फोन लाग्ने समय पाँच सेकेन्ड वा सोभन्दा कम हुनुपर्नेमा टेलिकमको ६.१६ सेकेन्ड, एनसेलको ६.१८ सेकेन्ड र स्मार्टको ९.२९ सेकेन्ड रहेको छ । एसएमएस प्राप्ति सफलता दर टेलिकमको ९८.९१ प्रतिशत, एनसेलको ९९.१३ प्रतिशत र स्मार्टको ४८.३५ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशमा ब्राउजिङ खुल्ने सफलता दर टेलिकमको ९९.१५ प्रतिशत, एनसेलको ९७.५९ प्रतिशत र स्मार्टको ४७.३० प्रतिशत रहेको छ । ब्राउजिङ खुल्न लाग्ने औसत समय टेलिकमको ९.५६ सेकेन्ड, एनसेलको २०.८३ सेकेन्ड र स्मार्टको ५६.५१ सेकेन्ड रहेको छ । औसत डाउनलोड गति टेलिकमको १७.२२ एमबिपिएस, एनसेलको १८.१४ एमबिपिएस र स्मार्टको ९.४१ एमबिपिएस रहेको छ ।
औसत अपलोड गति टेलिकमको ८.८९ एमबिपिएस, एनसेलको ६.२१ एमबिपिएस र स्मार्टको १.४६ एमबिपिएस रहेको छ । डाउनलोड सफलता दर ८० प्रतिशत वा सोभन्दा बढी हुनुुपर्नेमा टेलिकमको ८८.५८ प्रतिशत, एनसेलको ८४.१० प्रतिशत र स्मार्टको ६.७१ प्रतिशत रहेको छ । त्यस्तै, अपलोड सफलता दर ७५ प्रतिशत वा सोभन्दा बढी हुनुपर्नेमा टेलिकमको ७४.५७ प्रतिशत, एनसेलको ७८.६३ प्रतिशत र स्मार्टको १६.४५ प्रतिशत रहेको छ ।
गुणस्तर सुधार्न निर्देशन दिन्छौँ, नभए कारबाही गर्छौँ : अच्युतानन्द मिश्र, सहायक प्रवक्ता नेपाल दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले हरेक वर्षजसो सेवाको गुणस्तरको परीक्षण गर्दै आएको छ । प्राधिकरणले परामर्शदाता लगाएर यस्तो परीक्षण गर्छ । हालै प्रदेश १, मधेस र गण्डकी प्रदेशमा सेवाको गुणस्तरको विषयमा गरिएको अध्ययन प्रतिवेदन प्राप्त भएको छ । त्यसैले, कतिपय सेवाको गुणस्तर कमजोर रहेको देखाएको छ ।
कतिपय सेवाको गुणस्तर सन्तोषप्रद रहेको देखाएको छ । फोरजीको गुणस्तर निकै कमजोर रहेको देखाएको छ । अब हामी अध्ययन प्रतिवेदनको विस्तृत अध्ययन गर्छौँ र सोहीअनुसार गुणस्तर सुधार्न सेवाप्रदायकलाई निर्देशन दिन्छौँ । तोकिएको गुणस्तर कायम नभए वा सुधार नभए कानुनअनुसार कारबाही गर्छौँ ।