अब किबीको पनि बिमा

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

नेपालमा किबी फलको व्यावसायिक खेती बढ्दै गएपछि बिमा समितिले किबी बिमा योजना जारी गरेको छ । पोलिसीअन्तर्गत किबी खेतीमा कुनै हानि–नोक्सानी भएमा दाबी भुक्तानी गर्न सकिनेछ । त्यस्तै, यसै पोलिसीभित्र बिमित कृषकको दुई लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बिमा पनि हुनेछ । खेतीमा कुनै क्षति भएमा कम्पनीले बिमांक रकममा ५ प्रतिशत वा १० हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सो रकम घटाएर बाँकी रकम भुक्तानी गर्नुपर्नेछ । दाबी परेको १५ दिनभित्रमा कम्पनीले घटनाको अध्ययन गर्नुपर्ने तथा क्षतिको मूल्यांकन गरेको ३५ दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ ।  

 रक्षावरण गर्ने जोखिम 
 पोलिसीमा आगलागीका कारण क्षति भएमा कम्पनीले क्षतिपूर्ति भुक्तान गर्नेछ । त्यस्तै, हुरीबतास, आँधीबेहरी, तुफान, अतिवृष्टि बेमौसमी वर्षा, असिना, हिउँ, बाढी, डुबानका कारणले पनि क्षति भएमा कम्पनीले जोखिम वहन गर्नेछ । खडेरी, तुसारो, भूकम्प, पहिरो, भूस्खलन, चट्याङ, जंगली जनावरको आक्रमण, रोग, किराका कारणले पनि खेतीमा हानि–नोक्सानी भएमा कम्पनीले जोखिम वहन गर्नेछ । 

 बिमांकको ५ प्रतिशतमा नै बिमा
  बिमालेखअन्तर्गत किबी खेतीको लागत र उत्पादनका आधारमा बिमा गर्न सकिनेछ । लागतका आधारमा किबी खेतीको बिमाशुल्क गणना गर्दा कुल किबी बोटको बिमांक रकम (किबी बोटको संख्या र प्रतिबोटको लागत मूल्य) तोकिनेछ । जसको बिमाशुल्क बिमांक रकमको ५ प्रतिशत हुन आउनेछ । बिमाशुल्कमा सरकारले दिएको ७५ प्रतिशत अनुदान रकम घटाइनेछ । 

उदाहरणका लागि कृषकले किबी खेती सुरु गर्दा एक लाख रुपैयाँ लागत लाग्यो । सो लागतलाई बिमांक रकम मानिनेछ । अब कृषकले बिमांक रकमको ५ प्रतिशत हुन आउने पाँच हजार रुपैयाँ बिमाशुल्क भुक्तानी गर्नुपर्छ । सो रकममा सरकारले ७५ प्रतिशत अनुदान दिएको छ । पाँच हजारको ७५ प्रतिशत भनेको तीन हजार सात सय ५० हुन आउँछ । अब कृषकले पाँच हजार बिमाशुल्कमा सरकारले दिएको तीन हजार सात सय ५० रुपैयाँ घटाएर बाँकी रहेको एक हजार दुई सय ५० रुपैयाँ बिमाशुल्क भुक्तानी गरे पुग्छ । यदि कृषक आफँैले बिमा गरेमा कम्पनीले १५ प्रतिशत कमिसन दिनेछ । 

उत्पादनका आधारमा बिमा गर्दा किबी उत्पादन (फल)को अनुमानित रकमलाई बिमांक रकम मानिनेछ । यो रकम किबी बोटको संख्या, प्रतिबोटले उत्पादन गर्ने फल र फलको मूल्य प्रतिकेजीको गणना गरेपछि बिमांक रकम निकालिन्छ । सो रकमको ५ प्रतिशत बिमाशुल्क कायम गरिनेछ । त्यसमा सरकारले दिएको ७५ प्रतिशत अनुदान रकम घटाएर बाँकी रहेको रकम बिमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।

कृषकको व्यक्तिगत दुर्घटनाबापत पाँच सय रुपैयाँ बिमाशुल्क भुक्तान गर्नुपर्नेछ ।  किबी खेती बिमालेख जारी गर्दा घण्टा र मिनेटसमेत खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बिमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मिति फरक हुने गरी बिमालेख जारी गर्न पाइनेछैन । बिमालेखको अवधि समाप्त हुने मितिको मध्यरात १२ बजे बिमा अवधि समाप्त हुनेछ । बिमालेखको अवधि एक वर्षको हुनेछ । किबी खेतीको व्यावसायिक उत्पादनशील उमेर बिरुवा रोपेदेखि २० वर्षसम्म हुने हुनाले किबी खेतीको बिमा बिरुवा रोपेदेखि २० वर्षसम्म गर्न सकिनेछ । 

See More On

सुझावित समाचार