लाइसेन्सको ट्रायल सेन्टरमा मन्त्री रोकायाको अनुगमन, बेथिति अन्त्य गर्न निर्देशन

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा लाइसेन्स बाँडेको, लिखित परीक्षामा भद्रगोल भएर पारदर्शी परीक्षा हुन नसकेको र कसै–कसैले ट्रायल पास नगरेर लाइसेन्स लिने गरेको जनगुनासो छ । यो राम्रो भएन ।’

मन्त्री रोकायाले लाइसेन्स वितरणको सुरुको प्रक्रियादेखि नै पारदर्शिता देखाउनसमेत यातायात व्यवस्था कार्यालय जुम्लाका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले ट्रायल फेल भएका व्यक्तिलाई लाइसेन्स नदिन र निष्पक्ष र पारदर्शी तरिकाले ट्रायल गर्ने वातावरण मिलाउनसमेत सुझाए । एक्कासि भौतिकमन्त्री रोकाया ट्रायल सेन्टरमा पुग्दा कर्मचारी अलमलमा परेका थिए । उनले पहिलेको जस्तो गैरजिम्मेवार तरिकाले लाइसेन्स दिएको भेटिएमा तत्काल कारबाही प्रक्रियाअघि बढाउनेसमेत चेतावनी दिएका छन् । यस वर्ष एक सय २५ जना मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण भएको भएको कार्यालयले जनाएको छ । 

निरोगिताको प्रमाणपत्र चिकित्सकको जाँचविनै दिने गरेको, दलालले एक लाइसेन्सको २० देखि २५ हजार रुपैयाँसम्म लिने गरेको, चिनजान र भनसुनका आधारमा सबै प्रक्रियामा सफल गराइदिने विकृति रहेको परीक्षार्थीको गुनासो छ । मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएको विकृतिले जुम्लाको बदनाम हुने गरेको स्मरण गराउँदै आगामी दिन प्रक्रिया पुगेकाबाहेकले लाइसेन्स लिएको भेटिएमा राम्रो नहुने चेतावनीसमेत दिए । 
 

सुझावित समाचार