‘१५ वर्षसम्म जसको झन्डा बोकेर हिँडेँ, उसैले झन्डा फेर्यो । झन्डा नफेरुन्जेल घरी के घरी के भनेर यता न उता बनायो । शरीरको हड्डी खिइएपछि हातमा पासपोर्ट थमाइदियो ।’
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘तीन ट्रान्जिट’को संवाद हो, यो । मण्डला समूहले तयार पारेको नाटकलाई रंगकर्मी सोमनाथ खनालले निर्देशन गरेका छन् ।
नाटकले वर्तमान राजनीतिलाई मूल विषय बनाएको छ । राजनीतिभित्रको बेथितिले राजनीति, राजनीतिक दल र नेतृत्वप्रति युवाको वितृष्णा नाटकमा देखाइएको छ । सक्षम, शिक्षित र नैतिकवान् युवाको सहभागिता र प्रतिनिधित्वले मात्र सामाजिक, आर्थिक र राजनीति पक्षमा सकारात्मक रूपान्तरण सम्भव छ भन्ने सन्देश नाटकले दिन खोजेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका ‘तीन ट्रान्जिट’का दृश्य नाटकमा देखिन्छ । जहाँ बिदेसिनुपर्दाका पीडासँग जोडेर ती पात्रहरूले आफ्नो अभाव र समस्या एक–अर्कामा साट्दै जान्छन् । ट्राजिन्टमै भेटिन्छन्, राजनीतिक व्यवस्थाकै कारण संकट परेपछि खाडी मुलुक जानुपरेको युवाहरूको जमात । उनीहरू एकअर्कामा राजनीतिक व्यवस्थाप्रति आवेग, आक्रोश पोख्छन् । तर, गरिबी, बेरोजगारी, दुःख, संघर्ष गर्नुपरे पनि देशमै रहेर केही गर्नुपर्छ भन्ने भावना मरेको हुँदैन ।
नाटकका मुख्य पात्र हुन्, मोहन । जो १५ वर्ष विद्यार्थी राजनीतिमा होमिएर जीवनमा संकट आएपछि भिजिट भिसामा खाडी मुलुक जान बाध्य हुन्छन् । राजनीतिमा लागेर आफ्नो उर्वर समय खेर फालेकोमा दुःख मान्दै मोहन भन्छन्, ‘२५ सयको छात्रवृत्तिमा बिकेँ । त्यसपछि कैयौँपटक पाँच लिटर पेट्रोल, दुई बोतल बियर, तीन प्लेट सितन, एक थाल मासुभात अनि एक थान सपनामा बिकेँ ।’ उनी जतिवेला विद्यार्थी राजनीतिमा सक्रिय थिए, यो परिस्थिति आउला भन्ने नसोचेको बताउँछन् ।
दैनिक सयौँको संख्यामा युवाहरू अवसरको खोजीमा बिदेसिन बाध्य छन् । राजनीतिमा युवाहरू भर्याङ मात्रै बनिरहेका छन् । हरेक राजनीतिक परिवर्तनमा युवा नै अग्रपंक्तिमा होमिन्छन् । तर, नेतृत्वको बेवास्ताका कारण तिनै युवा अवसरबाट भने प्रायः वञ्चित हुँदै आएको नाटकले महसुस गराउँछ । बिदेसिएको युवा पुनः नेपाल फर्कन्छ । परिपक्व बनेर फर्किएको युवाले अबको निर्वाचनमा अवसर पाउनुपर्ने नाटकको जोड छ । तर, पुराना पुस्ताका नेताले युवालाई सजिलै नेतृत्व दिनै सक्दैन भन्ने अर्काे बहस सुरु गरेको छ ।
राजनीतिमा युवा हस्तक्षेपमा जोड दिने ‘तीन ट्रान्जिट’
नेपाली राजनीतिमा युवा उपस्थितिसँगै हस्तक्षेपकारी भूमिका बढाउन ‘तीन ट्रान्जिट’ले जोड दिएको छ । सक्षम राजनीतिज्ञको अभावमा राजनीतिक परिवर्तन संस्थापन हुन नसकेको नाटकले उठाएको छ । अवसर दिने वा पाउने वेलामा युवालाई अवमूल्यांकन गर्न नहुने नाटकको सन्देश छ ।
राजनीतिको नेतृत्व तहमा अझै पनि युवा क्षमताको अविश्वास गरी वञ्चित गरिँदै आएको छ । यो प्रवृत्ति सबै राजनीतिक दलमा छ । यही कारण राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट छ । ४ वैशाखसम्म मञ्चन हुने नाटकमा मोहन चाम्लिङ राई, विपिन जयसवाल, प्रशंसा शिवाकोटी, प्रविन पुरी, रवीन्द्र खत्री, भुवन लुहार (भुपी) न्याथन रायन, दिग्गज खत्री, स्मृति श्रेष्ठ, रेखा लिम्बु, युगल लिम्बु, रेस्मा लिम्बु, कुशल श्रेष्ठ, श्रीशेष श्रेष्ठ, कृष्टिना बस्नेत, मिलन खड्का, राजीव चौधरी, पवनबहादुर विक, सस्मिल पुनमगर र अविनाश राईको अभिनय देख्न सकिन्छ ।