अभिनेता भुवन केसीले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी नदिने प्रस्ट पारेका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू मेयरमा उम्मेदवार बन्न असमर्थ रहेको बताएका हुन्। यसअघि अभिनेता केसीलाई उन्नत लोकतान्त्रिक पार्टीले काठमाडौंको मेयरमा उम्मेदवार बनाउने घोषणा गरेसँगै विभिन्न चर्चा–परिचर्चा सुरु भएको थियो।
अभिनेता केसीले हालसम्म आफू कुनै पनि राजनीतिक पार्टीमा नरहेको पनि स्पष्ट पारेका छन्। उनले उन्नत लोकतान्त्रिक पार्टीका केही नेतासँग आफ्नो छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको बताएका छन्। 'स्थानीय निर्वाचनको सँघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा म उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको, तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु,' केसीले फेसबुकमा लेखेका छन्।
नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रविना जनताका अधिकारहरू स्थापित हुन र सुशासन कायम हुन नसक्ने भन्दै उनले आगामी दिनमा कहाँ, कुन पार्टीबाट राजनीति गर्ने भन्ने निधो नगरेको बताएका छन्।