भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम

शनिबारसम्म मौसम प्रतिकूल रहने अनुमान, केही स्थानमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको चेतावनी

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट बुधबार जमिनमा प्रवेश गरेको छ। ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे जमिनमा प्रवेश गरेसँगै कमजोर हुँदै गएको चक्रवातको प्रभाव नेपालमा भने बिहीबारदेखि बढ्ने अनुमान नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको यो प्रणाली बिहीबार बिहानसम्म कमजोर भएर ‘डिप डिप्रेसन’मा परिणत हुने सम्भावना छ ।

चक्रवात जमिनमा प्रवेश गरिसके पनि यसको प्रभाव समाप्त भइसकेको छैन। महाशाखाले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै बुधबारदेखि नै नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेको जनाएको छ। बिहीबारदेखि यसको प्रभाव क्रमशः बढ्दै जाने र शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ।


कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

धानबाली भित्र्याउन र हिमाली यात्रा गर्न सतर्कता
वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले किसानलाई आगामी शनिबारसम्म धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न आग्रह गरेको छ । धान काट्ने र भित्र्याउने समयमै मौसम प्रतिकूल हुन सक्ने भएकाले किसानले सम्भावित जोखिमलाई ध्यान दिनुपर्ने देखिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ। त्यसैले पर्यटकलाई उच्च हिमाली भूभागमा नजान र त्यहाँ पुगिसकेकालाई मौसम प्रतिकूल रहने अवधिमा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

सम्भावित वर्षाका कारण जोखिमयुक्त स्थान तथा सडक छेउछाउमा पहिरो जान सक्ने, चिसो बढ्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ । यसबाट दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले चक्रवातबाट विकसित मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने भएकाले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।

सुझावित समाचार